आचारसंहिता लत्याउँदै मौन अवधिमा पत्रकार बोलाएर केपी ओलीले गरे यस्तो हंगामा...

  • काठमाडौं ।
आचारसंहिता लत्याउँदै नेकपा एमालेले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै हंगामा मच्चाएको छ

प्रेस चौतारी नेपालले सोमबार (आज) आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई सद्दाम हुसेनसँग तुलना गर्दै बिभिन्न आरोप लगाए । 

धेरै समय शेरबहादुर देउवा सरकारको कुरा काट्नमै खर्चेका ओलीले भने - 'यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको हुदैछ, सरकारले आफ्नो साधन स्रोत प्रयोग गरेर अस्वस्थ भ्रम, भय र लोभ सिर्जना गर्न हुँदैन, त्यस्तो भएमा उचित कारबाही गर्ने काम निर्वाचन आयोगको हो, आयोगको काम मतपत्र छाप्ने र वितरण गर्ने मात्र होइन देश, दुनियाँ र जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउने पनि हो ।'

निर्वाचनमा खटाइएका अधिकृत, कर्मचारी र सुरक्षाकर्मी तथा पर्यवेक्षकको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहना सरकारमा हुँदा वा नहुँदा पनि एमालेले नराख्ने उनले स्पष्ट गरे । 

ओलीले भने, “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन । विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपथ्र्यो र ?” 

उनले दोस्रो चरणको निर्वाचनमा औपचारिक रुपमा भाग नलिए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्वतन्त्र उम्मेदारका माध्यमबाट भाग लिएकामा सकरात्मक ठान्दै सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा सार्ने सरकारको निर्णयको आलोचना गरे ।

निर्वाचन आयोगलेले दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको जनाएको छ। असार १४ गते १, ५ र ७ प्रदेशका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनका लागि १२ बजेपछि मौन अवधि सुरु भएको हो।

स्थानीय तह निर्वाचन, निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।

निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने आयोगले जनाएको छ । तर ओलीले पत्रकार सम्मेलन नै गरे ।

निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुनेमा समेत आयोगले सचेत गराएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...