खाडी मुलुकबाट छोरालाई गरीब बाबुको मार्मिक चिट्ठी- प्राण प्रिय मेरो छोरा...


काठमाडौं । 

दु:खले सजिएको मेरो काहानी आज म तिमीलाई लेख्दै छु । आफ्नै देशमा पसिना बगाउछु भनेर आज भन्दा २० बर्ष पहिला मैले रोजगारीका निम्ती धेरैको ढोका चाहरे तर कसैको सहयोग र साहरा मिलेन । 

घरमा एक छाक खान सक्ने अवस्था थिएन । चुनावका बेला नेताले रोजगारीको कुरा गर्थे तर त्यो रोजगार कहिले मिल्ने हो। यकिन नै थिएन ।

तिम्री आमा गर्भवती थिइन, मलाई जसरी हुन्छ पैसा कमाउनु थियो । ऋण, धन गरेर म बिदेश हुइकिए र आज बिदेश छिरेको पनि ठ्य्याकै २० बर्ष पुगेछ । रहर र बाध्यताको आफ्नै संसार हुदो रहेछ बाबु । मेरो बाध्यताले मलाई धेरै कुरा गर्न लगाईरहेको थियो । ब्याजमा ऋण लिएर खाडी छिरेको पैसा जसरी हुन्छ तिर्नु थियो । त्यो पैसा तिर्नको लागि झन्डै पहिलो एक बर्ष लाग्यो । 

मैले जिन्दगीमा खासै केही गर्न नसके पनि तिमीलाई सरकारी स्कूलबाट बोर्डिङ्ग स्कूलमा पढाउन सके अनी तिम्री आमालाई कहिल्यै गरिबीको अनुभव गर्न दिइन । दु:ख, चोट, बेदना कहिलै पनि साटीन । तिमीहरुलाई खुसी पार्नु नै मेरो आत्म सन्तुस्टी थियो । आज १७ घण्टाको कामको थकानबाट कोठामा अाइपुगेपछी एउटा पत्र कोर्न मन लाग्यो। शायद घरको न्यास्रोले हो कि ?

दुई दशक खाडी मुलुकमा नै पसिना चुहाएको भए पनि, मैले खासै जिन्दगीमा सोचे जस्तो कुनै परिवर्तन ल्याउन सकिन । सके भनेर भन्ने हो भने तिमीलाई बोर्डिङ स्कूलमा पढाउन सके र आमालाई दुई चार सरो कपडा फेर्दिन सके तर यतीलाई गुणात्मक बिकास भयो भनेर कसरी भन्नु ? आज सम्म मैले जेनतेन कमाएको पैसा घर खर्च गर्दा गर्दै सिद्धियो कुनै उत्पादनशिल काममा पैसाको लगानी गरुम भन्दा पनि गरिबीले बाटो नै पहिलाउन सकिएन । बाबु  अब खाडी मुलुकमा पनि त्यती धेरै बसेर काम गर्न सकुला जस्तो छैन । 

उमेर पनि ढल्कीसक्यो, दिउसो भरी काम गर्य, राती पुरा जिउ दुखेर अर्को बिहान काममा जान सक्ने अवस्था नै हुँदैन तर पनि तिमीलाई ठुलो मान्छे बनाउने सपना जब सम्झिन्छु तब ति दुखाइ, पिडा र चिन्ता आफै कता हो कता पुग्छन । कहिले काही चिन्ता पनि लाग्छ बाबु मैले बारम्बार छुट्टीमा आउँदा तिमी डाक्टर, ईन्जिनियर र पाइलट यो मध्य एउटा अवस्य बन्नु पर्छ भन्दथे । शिर ठाडो बनाएर यो मेरो छोरो भनेर भन्ने दिनको पर्खाइमै छु बाबु । मैले त्यो सपनालाई मर्न दिएको छैन । तर यो खाडीमा काम गर्दा गर्दै म ढले भने, मैले देखेको सपना सपना नै हुनेछ । 

तिमीले बाटो परिवर्तन गर्दै समाज परिवर्तन कै बाटोमा लाग्नु किनकी डाक्टरले त केही बिरामीलाई उपचार गर्दछ तर एउटा सफल र नैतीक राजनीतिज्ञले देशको नै उपचार गर्दछ । आज देशमा हुर्किएको अराजकता, बिधी र प्रकृया माथिको ठुलो हस्तक्षपलाई निर्मुल पार्न युवाको सत्तामा पहुच आबस्यक छ । तिमी गरीबहरुको पक्षमा राजनीतिको मिसाएल बनेर अगाडि बढ्नु किनकी राजनीतिमा कहिल्यै पनि गरीबहरुले अवसर पाएनन् । बाबु तिम्रो शिक्षा गरीबको निम्ती अमृत समान होस मेरो चाहना केबल यही छ । 

पढेर, लेखेर ब्यवसाय गर्छु भन्ने कहिलै नसोच्नु । लाग्नु त केबल राजनीति मै लाग्नु किनकी राजनीति जस्तो फसटाउदो पेसा अरु कुनै छैन । जहाँ मानवीयता, स्नेह र आदर नै छैन । कानुन, निती, बिधी, नियम भन्दा माथि को छ भनेर प्रश्न गर्ने हो भने केबल त्यो नेता र राजनैतीक पार्टी नै हो। जहाँ निष्ठा, त्याग र बलिदानको लीलाम बिक्री हुने गर्दछ । 

नेताहरुलाई धेरै कुराको छुट छ बाबु । मान्छे मार्दा छुट छ । भ्रस्टचार, कालो बजारी, गुण्डागर्दी र अपराध गर्दा सम्म पनि छुट छ । अब आफै भन तिमी के हुन चाहन्छौ ? यो अराज्नैती छुटका बिरुद्द तिमी बोल्ने या नबोल्ने । राजनीतिमा हुर्केको अपराधलाई यदी साच्चै निर्मुल पार्ने सोच छ भने तिमी राजनीतिमा नै हाम फाल्नु जरुरी छ । तिमी जस्ता सचेत युवाहरु राजनीतिमा लाग्न सक्यौ भने बल्ल देशको मुहार फेरिने छ । राजनीतिमा धोका, तिक्डम र जालसाझी हुने गर्दछ । यस्तो कुराबाट आतिएर राजनीति गन्धी खेल हो भन्दै सन्यास नलिनु। 

राजनीति निरन्तरताको खेल हो । तिम्रो सपना त्यती बेला पुरा हुनेछ जती बेला मजदूर र किसानहरुका छोरा छोरी पनि डाक्टर, ईन्जिनियर र पाइलट बन्ने सपना पुरा गर्ने छन । यदी यहाँ आफ्नो प्राण प्रिय जन्मस्थानमा केही गर्ने सोचका साथ नै तिमी नेता बन्नु तर एउटा कुरा सधैं याद गरीरहनु । तिम्रो हजूरबुवा अर्थात मेरा बुवाले मलाई सधैं यो कुरा भनीरहनु हुन्थ्यो आज म त्यही कुरा तिमीलाई भन्दै छु ।

"राजनीतिमा अनाबस्यक बलिदान कहिले पनि नगर्नु किनकी अनिकालमा बिउ जोगाउनु र हुलमुलमा जिउ जगाउनु आबस्यक रहन्छ ।" राजनीतिमा प्राण त्याग गर्ने भनेको गरीब र निमुखा जनताले नै हो । आजसम्म यही चलन छ । यो अन्याय पूर्ण छ । लगानी गर्ने एउटा र अवसर प्राप्त गर्ने अर्को । गरीबहरुले लगानी गर्ने अनी अबसरमा लाभको पदमा पुग्ने अबसरबादीहरु नै हुन्छन् ।

बाबु आफ्नो स्वर्थ परीपुर्तीका लागि कसैको रगतमाथि होली नखेल्नु किनकी त्यो रगतले पोल्छ अनी तिमी देखेको सपना र उनिहरुले देखाएको सपनामा खासै के फरक पर्ला र ? त्यसैले तिमीले गरीबको निम्ती राजनीति गर्नु जहाँ गरीबले मन फुकाएर बाँच्न सकोस । तिम्रा बिचारलाई तहस नहस पार्न पैसाका बिट्टाले हानिन सक्छ त्यती बेला तिमीले तिम्रो दृष्टि नगुमाउनु । लोभ, लालच र ब्यक्तिबादमा तिमी फस्यौ भने मेरो २० बर्षको खाडी बसाइको कुनै अर्थ र औचित्य रहने छैन । जिन्दगीमा कहिले काही यती सम्मको बोल्ड निर्णय लिनु कि जहाँ तिमीले आँफै हार्दा, लाखौं ति तिमीले प्रतिनिधित्व गरेका जनताले जितेको अवस्था सिर्जना होस् । 

एउटा सिटामोल नपाएर प्राण त्याग गर्नुपर्ने ठाउँमा तिमीले गरेको राजनीति गरीब, निमुखाहरुको निम्ती बरदान साबित हुनेछ । गरीब भएर एक छाक खानका निम्ती संघर्ष गर्दागर्दै प्राण त्याग गर्ने या गरीबहरुको मसिहा बनेर औचित्यपूर्ण ढंगबाट समाज रुपान्त्रणका निम्ती लाखौंको नेतृत्व गर्दै सम्मानपूर्ण मृतु बरण गर्ने यो तिम्रै निर्णयमा भर पर्ने छ । 

मैले त्यती धेरै पनि पढ्न पाइन तर तिम्रो पढाई यो समाज रुपान्त्रणको निम्ती प्रयोगमा आउनुपर्छ भन्ने मेरो सोच हो । अशीक्षा, बेरोजगारी र भोकमरी जस्ता कुराहरु अन्त्य हुनुपर्छ र सबै नागरिकले शान्तिपूर्णरुपमा समतामुलक समाजमा बाँच्न पाउनुपर्छ भन्नेमा तिम्रो बिचारको बिकास होस । 

राजनीतिलाई सङ्लो बनाउनु तिम्रो लक्ष्य हुनेछ । सुरुवातमा तिमीलाई कठिन पनि हुन सक्दछ तर हरेस नखानु किनकी इनारमा जम्मा भएको फोहोरलाई तर्काउदा तिमी पनि फोहोरी नै जस्तो देखिन्छौ तर तिम्रो लक्ष्य पुरा हुने नै छ । तिम्रो एउटा सानो प्रयासले गरीब र दिनदुखीको मुहारमा हासो र खुसी ल्याउन सक्छ भने तिमी नेता नै हुनुपर्छ । आजलाई यति नै....

उही तिम्रो प्रिय पिता 
प्रताप शर्मा 

प्रतिकृया दिनुहोस्

Loading...