जब जामा लगाएर केटाहरु स्कुल पुगे...


स्कुलमा हाफ प्यान्ट लगाउन नपाइने नियमको विरोधमा एक बेलायती स्कुलका केटाहरु जामा लगाएर स्कुल पुगेका छन्। 

बिहीबार डेभोन काउन्टीको एक्सटरस्थित इस्का एकेडेमीका विद्यार्थीहरु जामा लगाएर स्कुल आएपछि त्यसले चर्चा पाएको हो।

सो स्थानमा गत सातादेखि नै तापक्रम ३० डिग्री सेल्सियसबाट उकालो लागेपछि केटाहरुले स्कुल प्रशासनसँग हाफ प्यान्ट लगाउन पाउनुपर्ने माग राख्दै आएका थिए। तर उनीहरुको माग सोझै इन्कार गरियो।

तर केटाहरु पनि के कम। उनीहरुले तर्क गरे, ‘केटीहरु जामा लगाएर आउँछन्, उनीहरुको गोडा देखिन्छ त?’

केटाहरुको तर्क सुनेर स्कुलका अधिकारीले मजाक गरे, ‘तिमीहरु पनि जामा लगाएर आउँछौ भने ठीकै छ त।’

नभन्दै बुधबार केही केटाहरु जामा लगाएर स्कुल पुगे। बिहीबार त्यो संख्या ३० पुग्यो।

तर जामा जुटाउन भने केटाहरुलाई सजिलो भएन। कतिले दिदीबहिनीसँग सापटी मागे, कतिले केटीसाथीसँग। गोडाभरी रौँ हुनेहरुलाई अर्को आपत्, तिनले रौँ पनि खौरिनपर्‍यो।

पहिलो पटक जामा लगाएर स्कुल जाँदा कस्तो महसुस भयो त?

‘एकदम रमाइलो!’ एक विद्यार्थीको उत्तर थियो।

‘जामामा हावा राम्ररी छिर्दो रहेछ!’ अर्को विद्यार्थीको उत्तर।

अर्को रोचक कुरा के भने केटाहरु जामा लगाएर स्कुल गएकै दिन चाहिँ तापक्रम घटेर २० डिग्री सेल्सियस पुग्यो। कतिपय अझै पनि जामालाई निरन्तरता दिने पक्षमा रहेको बताइएको छ।

केटाहरुको यस्तो किसिमको विरोधपछि स्कुल पनि आफ्नो पहिरनसम्बन्धी नियमलाई बदल्ने सोचमा पुगेको छ। ‘केही दिनयता गर्मी अत्याधिक बढेको छ, त्यसैले केटा विद्यार्थी र स्टाफहरुलाई आरामपूर्वक राख्न हामी सक्दो कोसिस गरिरहेका छौँ,’ स्कुलकी प्रधानाध्यापक एमी मिसेलले भनेकी छन्, ‘हाफ प्यान्ट अहिलेसम्म हाम्रो ड्रेसकोड भित्र पर्दैन तर तापक्रम बढ्दै गए हामी विद्यार्थी र तिनका अभिभावकसँग सल्लाह गरेर परिवर्तन गर्न तयार छौँ।’

डेभोन काउन्टीको यो स्कुलबारे संसारभरका सञ्चारमाध्यमले लेखेका छन्। बेलायतका अन्य केही स्कुलका किशोर विद्यार्थी पनि जामा लगाएर स्कुल पुगेको समाचार आउन थालेका छन्।

जामा लगाएर स्कुल जाने एक विद्यार्थीकी आमाले आफू यसबाट गर्व महसुस गरेको बताएकी छन्।

एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...