यौन प्रस्ताव गरी व्यापारी श्रेष्ठको अपहरणपछि हत्या काण्डका मुख्य ३ योजनाकार गिरफ्तार

  • काठमाडौं ।
दाङ–दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार व्यवसायी श्रेष्ठको अपहरणमा मुख्य भुमिका निभाउने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने पूजा घर्ती, उनकै बाबु टीकाराम घर्ती र अपहरणको मुख्य योजनाकार सल्यान झिम्पे ४ का मानबहादुर भण्डारी पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुलाई घटनाको झण्डै १ महिना पछि भारतको हिमान्चलबाट पक्राउ गरेको हो । श्रेष्ठ गत जेठ २६ गते तुलसीपुरबाट अपहरणमा परेका थिए । 

श्रेठको शव अपहरणमा परेको २१ दिनपछि सल्यानकै छत्रेश्वरी गाउँपालिका ४ झिम्पेमा भेटिएको थियो । तर, अपहरणको तीन दिनपछि नै श्रेष्ठको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तुलसीपुरका कपडा व्यपारी श्रेष्ठलाई पैसाकै लागि अपहरण गरिएको र उनीसँग तीन करोड फिरौती मागिएको बुझिएको छ ।

को हुन् पूजा ?

व्यवसायी श्रेष्ठको अपहरणपछि भएको हत्या लगत्तै सामाजिक सञ्जालमा एक युवतीको तस्विर भाइरल भयो । ती युवती थिइन्, पूजा घर्तिमगर । तुलसीपुरमा १२ कक्षासम्म अध्ययन गरेकी १७ वर्षिय पूजाको सल्यान कालीमाटीका एक युवकसँग पहिला नै विवाह भइसकेको थियो ।

निकै तडकभडक जिन्दगी विताउने गरेकी पूजाले ती युवकसँग सम्बन्धविच्छेद गरेको बताइन्छ । पूजा ब्युटिपार्लरमा काम गर्थिन् र निकै मोजमस्तीपूर्ण जीवन बिताउँथिन् । अध्ययन वा कामभन्दा रंग–रमितामा रमाउन थालेकी उनको प्रगति देखेर उनका साथी समेत अचम्मित थिए । उनी विभिन्न मेला महोत्सवहरूमा नृत्यसमेत गर्थिन् ।

पूजाको व्यवहार केटाहरूसँग संगत बढाउने र अप्ठेरोमा पारेर रकम असुल्ने खालको रहेको बताइएको छ । उनले यसबीच पनि धेरै पुरुषसँग संगत बढाएर रकम लिएको बताइन्छ । ब्युटिपार्लरमा काम गर्न थालेदेखि उनी व्यवसायीहरूको सम्पर्कमा पुगेकी थिइन् । पूजा व्यवसायी श्रेष्ठसँग करिब डेढ बर्षदेखि नै सम्बन्धमा रहेको निकटस्थहरू बताउँछन् । पूजाको अधिकांश खर्च श्रेष्ठले नै धानिदिएको उनीहरूको भनाइ छ ।

यसक्रममा पूजाको श्रेष्ठसँगको सम्बन्ध थाहा पाएका सल्यानका मानबहादुर भण्डारीले नै पूजालाई प्रयोग गर्ने तानाबाना बुनेका थिए । भण्डारीले पूजामार्फत श्रेष्ठको सम्पत्ति र व्यवसायका बारेमा विस्तृत जानकारी लिदै अपहरणको योजना बनाएका थिए । भण्डारी र पूजाका बुवा टीकाराम घर्तीले ३ करोडसम्म असुल्ने योजनाका साथ पूजालाई मोहरा बनाएर उनको अपहरण गरेको बताइन्छ ।

कसरी भयो अहपरण ?

जेठ २६ गते बेलुका तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित बुटवल वस्त्रालयका सञ्चालक ५३ वर्षीय राजकुमार श्रेष्ठ एक बैठकमा रहेका बेला उनको फोनमा घण्टी बज्यो । प्रायः राति अबेरसम्म साथीभाइसँग रमाइलो गर्दै बस्ने श्रेष्ठले सो दिन भने फोन गरे पश्चात बैठक छिट्टै समापन गर्नुपर्ने प्रस्ताव राखे । आज मेरो जरुरी काम पर्यो, बैठक छोटो गरौं है भनि उनी हतार–हतार घर गए । 

श्रीमती माइत गएकाले उनको घरमा काम गर्ने व्यक्तिहरु मात्र थिए । श्रेष्ठले आफु बेलुका अबेर आउने जानकारी गराउदै बा ११ च १०७१ नम्बरको कारमा घरबाट बाहिरिए ।

बैठकमा रहेका बेला उनलाई फोन गर्ने युवती थिइन् तीनै पूजा । उनले श्रेष्ठलाई बैठकमै रहँदा फोन गरेर सल्यानतिर घुम्न जाऔं, आउनुहोस्’ भनि प्रस्ताव गरेकी थिइन् । घर्तीको फोन आएपछि श्रेष्ठ हतार–हतार बैठकबाट बाहिरिएका थिए ।

श्रेष्ठले घर्तीलाई तुलसीपुर–सल्यान सडकखण्डअन्तर्गत टेलिकमको कार्यालयभन्दा केही माथि आफ्नो गाडीमा चढाएका थिए । त्यसपछि उनी घर्तीसँग सल्यानतिर लागे । उनीहरू सल्यानको कपुरकोट गाउँपालिका–५ मेलखोला नजिक पुगेपछि श्रेष्ठको अपहरण गरिएको थियो । बाटोमा गाडी रोकेर हातहतियार देखाई उनको गाडीलाई मुख्य सडकबाट भित्री कच्ची सडकमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

कसरी भयो हत्या ?

जेठ २६ गते राति अपहरण गरेपछि श्रेष्ठलाई रातदिन जंगलको बाटो हिँडाइयो । मुख्य योजनाकार भण्डारीले श्रेष्ठलाई आफ्नो घर नजिकैको जंगलसम्म पुर्याइदिन भनेका थिए । त्यसकारण अपहरणमा संलग्न भाडाका युवाहरूले श्रेष्ठलाई जंगलको कठिन बाटो हिडाए । उनलाई २९ गतेसम्म लगातार ३ दिन जंगलको बाटो हिँडाइयो । मधुमेहका रोगी श्रेष्ठ औषधी र उपयुक्त खानपिनबिना कठिन बाटो हिँड्नुपरेपछि बाटोमै थलिए ।

अपहरणकारीले १० किलो चिउराबाहेक अरू केही बोकेका थिएनन् । बाटोमा त्यही चिउरा खान दिन्थे । हिँड्ने क्रममा श्रेष्ठ ठाउँ–ठाउँमा लडेका थिए फलस्वरूप उनको शरीरमा चोट लागेको थियो र अन्तमा उनी बिरामी नै परे । बाटोमै विरामी परेपछि अपहरणकारीले श्रेष्ठलाई लामो समयसम्म हिँडाउन कठिन भयो ।

२७ जेठदेखि नै सल्यानको जंगलमा प्रहरीले सक्रियता बढाएपछि अपहरणकारीहरूलाई श्रेष्ठलाई लामो समय हिँडाइराख्न सम्भावना भएन । त्यसपछि श्रेष्ठको एउटा आवाज रेकर्ड गराएर उनको हत्या गर्ने योजना अपहरणकारीले बनाए । ‘म ठिक छु । उहाँहरूलाई ३ करोड रुपैयाँ दिनु भन्ने श्रेष्ठको आवाज रेकर्ड गरेपछि अपहरणकारीले ढुंगाले किचेर श्रेष्ठको हत्या गरि अनि बाक्लो जंगलको ओढारमा फ्यालि दिएका थिए । त्यसपछि रकम असुल्न सकिने आशामा अपहरणकारीले श्रेष्ठको घरमा फोन गरी ३ करोड रुपैयाँ मागे । घरपरिवारले श्रेष्ठसँग कुरा गरेपछि मात्र पैसा दिन सकिने बताए ।

अपहरणकारीले श्रेष्ठको रेकर्ड गरिएको आवाज सुनाए तर परिवारले दोहोरो कुरा नगरी केही गर्न नसक्ने जवाफ फर्काए । प्रहरीले चारैतिर घेरा हालिरहेको भान परेकाले अपहरणकारी धेरै समय उक्त क्षेत्रमा बस्न सक्ने अवस्थामा थिएनन् । 

त्यसपछि उनीहरू तितरबितर भएको प्रहरीको भनाइ छ । कोही भारततिर गए भने कोही नेपालकै बिभिन्न ठाउँमा छरिएको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको थियो । पक्राउ परेका अविरल महतराको सुचनाका आधारमा अपहरणको २१ दिनपछि श्रेष्ठको शव सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पे लेक भञ्ज्याङ जंगलमा मृत फेला परेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...