कृषि विकास बैंकले भूकम्पपीडितको रकम खाएको खुलासा

  • लमजुङ । 
भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् । 

मध्यनेपाल नगरपालिकाअन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार रु ५०० लिएको खुलेको छ । 

रकम प्राप्तिको लागि खाता सञ्चालन गर्नुपर्ने भन्दै रु ५०० लिएको बैंक शाखा प्रबन्धक सूर्यप्रसाद गैरेले बताए । 

भूकम्पपीडितका लागि आएको अनुदान रकमबाट बैंकले कुनै रकम कट्टा गर्न नपाउने जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए । भूकम्पपीडितको अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत भएको उनको भनाइ छ । 

“राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र बैङ्कर एसोसिएसनबीच अनुदान रकम वितरण गर्ने सम्झौता भएको हो”, रेग्मीले भने – “सेवा शुल्कबापतको रकम एसोसिएसनले लिएको छ, बैंकले एक रुपैयाँ पनि लिन पाउँदैन ।” 

रकम वितरणसम्बन्धी स्पष्ट निर्देशिका नआएकाले बैंकको नियमअनुसार रकम वितरण गरेको बैंकका प्रबन्धक गैरेले बताए । जिल्लाका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम रु ५० हजार वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय निकायअनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान रकम दिने व्यवस्था मिलाइएको छ । 

पहिलो किस्ता रकम रु ५० हजार घर निर्माणको आवश्यकताअनुसार उपयोग गर्ने र घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने बताइएको छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...