खरेललाई उछिने खनालले : किन भएन नवराज सिलवालको बढुवा ?

  • काठमाडौं ।
लामो समयदेखि अवरुद्ध प्रहरी बढुवा प्रक्रिया खुलाउँदै गृह मन्त्रालयले शुक्रबार ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको छ ।

श्रीलंकाको कोलम्बोमा आठौं सार्क राष्ट्रहरूको गृहमन्त्रीस्तरीय बैठक सकेर शुक्रबारै स्वदेश फर्किभएका गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीले बढुवा प्रक्रिया अगाडि बढाउन कसरत गरेका थिए । 

शुक्रबारै राति गृहमा बसेको बढुवा समितिको बैठकले ११ डीआईजीलाई एआईजी र १७ एसएसपीलाई डीआईजी बनाउन सिफारिस गरेको हो । गृहको सिफारिस सूचीअनुसार डीआईजी बमबहादुर भण्डारी र एसएसपी सर्वेन्द्र खनाल बढुवाको पहिलो नम्बरमा पर्न सफल भएका छन् ।

पूर्ववर्ती सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि सर्वोच्चबाट बदर गरिएका डीआईजी जयबहादुर चन्द सिफारिसको दोस्रो नम्बरमा परेका छन्। सरकारसँग मुद्दा खेपिरहेका डीआईजी नवराज सिलवाल भने सिफारिसमा परेका छैनन् । 

प्रहरी मुख्यालयले सार्वजनिक गरेको सूचीअनुसार तेस्रो नम्बरमा डीआईजी देवेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौंमा केशरीराज घिमिरे, छैटौंमा माधवप्रसाद जोशी, सातौँमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, दसौंमा रणबहादुर चन्द र एघारौंमा विजयकुमार भट्ट छन् । बढुवा समितिका सदस्यसचिव आईजीपी प्रकाश अर्याल छन् ।

बढुवा सिफारिस भएकामध्ये डीआईजी भण्डारी आफूलाई एक तह माथि पार्न सफल भएका छन् । एसएसपीबाट बढुवा हुँदा चौथो नम्बरमा ररहेका बम चन्दलाई उछिन्दै एक नम्बरमा परेका छन् ।

एसएसपीबाट बढुवा हुँदा सात नम्बरमा रहनुभएका मधु पुडासैनी भने सिफारिसमा छुटेका chan । एसएसपीबाट डीआईजीमा दोस्रोपटक बढुवा भएका डीआईजी रणबहादुर चन्द सिफारिसमा परे पनि अर्का डीआईजी हेमन्तबहादुर पाल छुटेका छन् । 

अब एक साताभित्र चित्त नबुझेका प्रतिस्पर्धी डीआईजीहरूले बढुवा सिफारिसविरुद्ध उजुरबाजुर नगरेमा बढुवा समितिले गृहमन्त्रीमार्फत मन्त्रिपरिषद्मा लैजानेछ । उजुरी परेमा फेरि एक साता बढुवा प्रक्रिया लम्बिनेछ ।

खरेललाई उछिने खनालले

गृहको सिफारिसअनुसार १५ जना एसएसपीमध्ये बढुवा सूचीको एक नम्बरमा पर्नुभएका खनालले एसएसपीमा हुँदा एक नम्बरमा रहेका रमेश खरेललाई उछिनेका हुन् । 

खरेललाई समितिले दोस्रो नम्बरमा बढुवा सूचीमा राखेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्राप्तांकअनुसार खनालले ८४.४७३४ र खरेलले ८३.८५१० नम्बर प्राप्त गरेका छन् ।

जसअनुसार खनालले खरेललाई ०.६२२४ नम्बरले उछिनेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सूचीमा तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाँचौंमा भोगबहादुर थापा, छैटौंमा पुस्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, दसौंमा ज्ञानविक्रम शाह, एघारौंमा ठूले राई, बाह्रौंमा शरद चन्द, तेह्रौंमा धिरु बस्नेत, चौधौंमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौंमा सुरेश विक्रम शाह परेका छन् ।


ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन।

गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिले ११ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्दा सरकारसँग मुद्दा खेपिरहेका सिलवाल समेटिएनन्।

तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित सबै एआईजी (प्राविधिकबाहेक) ले सेवा अवधिका कारण एकसाथ अवकाश पाएपछि डीआईजी सोझै आईजी बन्ने अवस्था आएको थियो।

सरकारले चौथो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजी नियुक्ति गरेपछि सिलवाल ज्येष्ठता र कासमुलाई मिचेर नियुक्ति भएको भन्दै आफूलाई बनाइनुपर्ने दाबीसहित सर्वोच्च पुगेका थिए।

सर्वोच्चले चन्द नियुक्तिको निर्णय बदर गर्दै घुमाउरो पारामा सिलवाललाई नै नियुक्त गर्न आदेश दिएको थियो। तर, आफ्नो पनि कासमु हेरिनुपर्ने भन्दै डीआईजी प्रकाश अर्याल सर्वोच्च पुगेपछि आईजी नियुक्ति प्रकरणले नयाँ मोड लिएको थियो।

सरकारले कासमुमा डीआईजी प्रकाश अर्याल पहिलो नम्बरमा रहेको बताउँदै आइजीमा बढुवा गरेको थियो। सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवा चन्दलाई आईजी बनाउनुपर्ने पक्षमा छन्। चन्द आईजी नहुने अवस्था आएपछि देउवा कुनै पनि हालतमा सिलवाललाई आईजी बनाउन नहुने अडानमा रहेका थिए।

सरकारले अर्याललाई आईजी बनाईएपछि सिलवाल पुनः सर्वोच्च पुगेका छन्। सिलवालले कासमु किर्ते गरी सर्वोच्चमा पेस गरेको भन्दै सरकारले छानबिन गरेको थियो। सिलवाल प्रकरणमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। तर, पछि यो प्रस्ताव फिर्ता भयो।

बढुवा सिफारिस विषयमा कुरा गर्न खोज्दा आईजी प्रकाश अर्याल र गृहप्रवक्ता दीपक काफ्ले सम्पर्कमा आएनन्। गृहसचिव लोकदर्शन रेग्मीले आफ्नो सम्पर्क नम्बर पीएसओलाई दिएर सम्पर्कविहीन भए।

डीआईजी सिलवालले बढुवा समितिको सिफारिसमा आफू केही नबोल्ने प्रतिक्रिया दिएका छन्। ‘मेरो मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले म यो विषयमा केही बोल्दिनँ। जुन दिन अदालतले फैसला गर्छ, त्यो दिन म बोल्छु चाहे जितौं वा हारौं’, सिलवालले भने।

उनले आफ्नो लडाइँ आईजीका लागि भएकाले त्यसबाहेक अरू केही नसोचेको बताए। ‘आईजी नियुक्त हुनुपर्छ भनेर म मुद्दा लडिरहेको छु। यो बाहेकका विषयमा मैले प्रतिक्रिया जनाउनु छैन’, उनले भने। आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...