नयाँशक्ति र फोरमको एकता भाँडिएपछि बाबुरामको खुसी २४ घण्टा नबित्दै लुटियो...

  • काठमाडौं । 
नयाँशक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टीवीच हुने भनिएको पार्टी एकता भाँडिएकाे छ । सहमति जुट्न नसकेपछि नयाँ शक्ति पार्टीका नेताहरु तत्काल फोरमसँग एकता नगर्ने निश्कर्षमा पुगेका छन् ।

नयाँशक्ति स्रोतका अनुसार शनिबारसम्म जसरी भए पनि उपेन्द्र यादवसँग पार्टी एकता गर्नुपर्छ भन्ने अडान राखेका संयोजक डा. बाबुराम भट्टराई पनि आइतबार उपेन्द्र यादवसँगको छलफलपछि निराश बनेका छन् । आइतबारको छलफलपछि डा. भट्टराईसमेत अब एकता नगरौं भन्दै ‘ब्याक’ फर्केका छन्।

नयाँशक्ति पार्टी र फोरममा नेताहरु आइतबार बाबुराम भट्टराईको निवासमा पार्टी एकताका लागि छलफलमा जुटेका थिए । त्यहाँ फोरमका नेताहरुले एकीकृत पार्टीको नाममा ‘संघीय समाजवादी फोरम’ तीनवटै पदावली छाड्न मानेनन् । त्यो नाममा नयाँशक्ति समेत थप्दा नाम असाध्यै लामो हुने भयो ।

यसैक्रममा बाबुराम पक्षले सुरुमा ‘नयाँ समाजवादी फोरम’ नाम राखेर एकता गरौं भन्ने प्रस्ताव अघि सारेका थिए । तर, उपेन्द्र पक्षले यो प्रस्ताव पनि नमानेको स्रोतको भनाइ छ ।

नामका साथै पदाधिकारी कति राख्ने भन्नेमा पनि यादव र भट्टराई समूहवीच कुरा नमिलेको नयाँ शक्तिका नेताको भनाइ छ । 

संघीय समाजवादी फोरमका केही नेता बाबुराम भट्टराईले मधेसलाई धोका दिएकाले उनलाई नेता स्वीकार गर्न नसकिने तर्क गर्दै उपेन्द्र यादवको नेतृत्वमा मात्रै एकता हुनुपर्ने पक्षमा थिए । तर, नयाँ शक्तिका नेताहरू भने बाबुरामको नेतृत्वमा मात्रै एकता सम्भव भएको तर्क गरिरहेका थिए ।

नयाँ शक्तिका केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू फोरमसँग एकता गर्ने पक्षमा नै थिएनन। उनीहरूले बरु साझा पार्टी र विवेकशील नेपाली दलसँग एकता गर्न सकिने धारणा राखेकाथिए । उपेन्द्र यादवको फोरम पुरानै दल भएको भन्दै उनीहरू त्यस्तो दलमा नजाने मनस्थितिमा थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...