अध्यक्ष कमल थापाकै कारण यसरी भताभुङ्ग हुदैछ राप्रपा

  • काठमाडौं ।

पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ । 

हालै मनोनीत गरिएका केन्द्रीय सदस्यको सूचीले राप्रपा समय अनुकूल चल्नबाट चुकेको प्रष्ट दर्शाएको छ । पार्टी नेतृत्व लैङ्गिक, धार्मिक, क्षेत्रगत र जातिगत सबै दृष्टिले अनुदार देखिएको छ ।

मनोनीतमा ८ प्रतिशत महिलाअध्यक्ष कमल थापाले दुई पटक गरेर ५९ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् । जसमध्ये पाँचजना अर्थात आठ प्रतिशत महिला छन् । मनोनीत महिलाहरूमा गीता बस्नेत, विन्दा गिरी, जनक कुँवर, पवित्रा सुब्बा श्रेष्ठ र सरस्वती केसी छन् ।

तर राप्रपाले महाधिवेशनमा महिलालाई पूर्ण समावेश गर्ने भन्दै ३३ प्रतिशत निर्वाचित सीट महिलाको लागि आरक्षित मात्र गरेको थिएन खुलातर्फका सम्पूर्ण पद महिलाका लागि खुला राखेको थियो ।

तर, अध्यक्ष थापाले विधानको मर्म विपरीत आठ प्रतिशत मात्र महिला मनोनीत गर्दा पार्टीमा चौतर्फी असन्तोष छाएको छ । सांसद आनन्दी पन्तले सामाजिक संजालमा ५१ प्रतिशत महिला कता ? भनेर टिप्पणी गरेका छन् । यसैपनि संविधानले महिलाको लागि ३३ प्रतिशत सिट सुरक्षित राखेको सन्दर्भमा राप्रपा समयको गतिसँग हिड्न नसकेको राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले सार्वजनिक रुपमा जनाइ सकेका छन् ।

एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले एकतर्फी रूपमा भएको मनोनयनलाई षड्यन्त्रको संज्ञा दिएका छन् भने उनकै नेतृत्वमा अन्य प्रभावशाली नेताहरू थापाको प्रतिकारमा जुटेका छन् । 
परिआए थापालाई अध्यक्ष पदबाट हटाउने रणनीतिमा नेता लागेका छन् । थापाले एकपक्षीय रूपमा केन्द्रीय सदस्य मनोनयन गरेपछि राणाले एकीकृत पार्टी सञ्चालनका लागि षड्यन्त्र होइन, राजनीति गर्न चुनौती दिएका छन् ।

राणाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पहिलो र दोस्रो स्थानीय तहको चुनावको समीक्षा गर्न, २ नं. प्रदेशमा हुने स्थानीय तहको निर्वाचन रणनीति तय गर्न र समसामयिक विषयमा छलफल गरी निर्णय लिन ४ साउनमा केन्द्रीय समितिको बैठक डाकिसकेको अवस्थामा केन्द्रीय तहका नेताहरूलाई सुइँकोसम्म नदिई एक्कासि केन्द्रीय समिति विस्तार गरिएको घटनाले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्व र उपस्थितिलाई नकारेको छ। राप्रपालाई अध्यक्षको एकल बिर्तामा रूपान्तरण गरिएको सन्देश प्रवाहित गराइएको छ । म यस कार्य र प्रवृत्तिको घोर निन्दा र भत्र्सना गर्दछु’, राणाले एकांगी रूपमा गरिएको निर्णय तत्काल फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाउन आग्रह गरेका छन् ।

अध्यक्ष थापाले केन्द्रीय समितिमा नेपालको राजनीतिका शिखर पुरुष विश्वबन्धु थापा, भाष्कर भद्रा, लक्ष्मीप्रसाद संग्रौला, मधु अधिकारी, मुकुन्दश्याम गिरी, पुष्करराज जोशी, हिक्मत ढकाल, हिक्मतसिंह भण्डारी, इन्द्र चित्रकार, रमानन्द न्यौपाने, रविन चाम्लिङ, लालध्वज लामा, नारायण श्रेष्ठ, जनक कुँवरलगायतलाई मनोनयन गरेका थिए।यसैगरी, किरण गिरी, प्रदीप उदय, मदनबहादुर कार्की, धनबहादुर थापा, बाबुकाजी प्रधान, दिलीपबहादुर बस्नेत, पुष्पराज पुरुष, कर्णबहादुर बुढा, धर्मराज जोशी, अर्जुन राई, सुरेन्द्र केसी, रामेश्वर थापा, उज्वलविक्रम थापा, पतिराम चुनार, बिन्दा गिरी, पवित्रा सुब्बा श्रेष्ठ, सरस्वती केसी, भरत पाठक, ओमप्रकाश आजाद, तीर्थराज चटौत, पदमबहादुर बस्नेत, वसन्तमानसिंह अधिकारी, भूपाल किराँती, रोहित राजवंशी, राजकुमार पोखरेल, विश्वेश्वर शर्मा, डा. विष्णु भण्डारी र राजेन्द्रवीर रायलाई थापाले मनोनयन गरे ।

यसैबीच, चुनावको समीक्षा गर्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रबारको उपत्यकाव्यापी भेला वरिष्ठ नेता पशुपतिशमशेर समूहले बहिष्कार गरेको छ । भेला बहिष्कार गर्ने नेतामा दीपक बोहरा, सुनील थापा, विक्रम पाण्डेलगायत छन् ।

थापाको हैकमवादी नीतिको विरोध गर्दै डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका थिए । डा. लोहनीले अध्यक्ष थापाले पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी बनाएको, चुनाव चिह्न ‘गाई’ राखेकोलगायत आरोप लगाउँदै पार्टी त्यागेका थिए । थापाको वरिष्ठ नेता केशरबहादुर बिष्टसँग पनि लामो समयदेखि अन्तद्र्वन्द्व रहँदै आएको थियो । अन्ततः डा. लोहनी र विष्टले राप्रपा राष्ट्रवादी नामक नयाँ दल बनाएका छन् ।

राप्रपामा देखिएको विवाद शृंखलाको प्रमुख कारण भने संविधान संशोधन नै हो । ३७ सांसद रहेको पार्टी यथास्थितिमा संविधान संशोधनको पक्षमा जानसक्ने अवस्थामा छैन । १७ वैशाखमा पार्टी निर्देशनविपरीत दर्जन सांसद संविधान संशोधनको पक्षमा भोट हाल्न संसद् बैठक नगएपछि थापामाथिको अविश्वास छताछुल्ल भएको थियो । कतिपय सांसद संशोधनको विरोधमा लागिरहँदा अध्यक्ष थापाले वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्न सकिरहेका छैनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...