डियर फोटोकार

प्रतिभा गौतम ।

विस्मृत अनुभूतिहरु पिँधेर

महको कुट उत्खनन गर्ने

क्षमतावान,

आदिम दासहरु

उठ

अब भने उत्प्रेरक र ओझिलो

औपन्यासिक उल्लासको

शंखघोष गर्नुपर्छ!

पसारियका र लतारियका

सुकोमल पाखुरिहरुमा

एकपल्ट

लत्पतियको इतिहासको कालखण्डको

यो धुमिल विम्ब

मेट्ने शाहस भर्नुपर्छ !

आज

असरल्ल परेका

बेथिति र कुरूपताको बिस्कुनलाई

आफ्नो क्यामेराको फ्रेममा समेट्दै हिंडेका

डियर फोटोकार!

भोलि

कंक्रिट भित्रका निश्पट्ट रातहरु

चर्चरि चिर्दा

च्यातियको पर्दापिछेदेखि

जूनसंग चिह्यायर

जूनसंगै मुस्काउदाको

युगिन दुर्लभ तस्विर खीच्न पनि

तिम्रो क्यामेराको बटन पूर्ववत तयार हुनुपर्छ !

यसरी

बिगतको ठण्डी उधिनेर

वर्तमानको घाम ताप्दै गर्दा

सबैले आफैं बुझ्नेछन

संस्कार र कुसंस्कार

थिति र बेथिति

अनि सुन्दरता र कुरूपताको भेद!

ठ्याक्कै त्यसैगरी

अब

विवेकको भाँडो भित्र

पियुसको बुँद थपेर

तिम्रो युगिन क्यामेराले

बेथिति र कुसंस्कारको श्रीङ्खलालाइ

पवित्र्याउने शाहस बोक्नुपर्छ!

प्रतिकृया दिनुहोस्

Loading...