दुखद खबर : धादिङको गंगाजमुना पहिरो जाँदा ७ घर पुरिए



काठमाडौं ।

केही दिनदेखिको अबिरल वर्षाको कारण उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ प्रुन्दुङमा मंगलबार राति पहिरो जाँदा ७ घर पुरिएको छ । सयौँ घर जोखिममा परेका छन् । 

केही बासिन्दा पहिरोका कारण जंगलमा गएका बसेका छन् । केही आफन्तको घरमा छन् । 

लगातारको वर्षापछि धाँजा पाटेको जमिन पुरै पहिरो जाँदा ७ घर पुरिएको र उनिहरुको विचल्ली भएको गंगा जमुना गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष फैसिङ तामाङले बताए । केहीदिनदेखि गाउँमा पहिरो जानसक्ने भएपछि केही परिवार जंगलमा गएको उनले बताए । केही पहिरो आउनु पहिले नै गाउँमा नातेदारको घरमा बस्दै आएका थिए ।

जिल्ला विपद व्यवस्थापन समितिलाई पटक पटक जानकारी गरार पनि गाउँबाट विस्थापित भएका बासिन्दाका लागि राहत पुराउन नसकेको र उनिहरुमध्ये केही मानिस दुई दिनदेखि भोक भोकै रहेको बताइएको छ । 

पहिरोका कारण सात घर पूर्णरुपमा पुरिएर नष्ट भएको छ । एक भैँसी र ३ वटा वाख्रा समेत हराएको छ । स्थानीय बासिन्दाले लगाउने कपडा समेत झिक्न नसकेको वडा अध्यक्ष तामाङको भनाई छ । 

केही दिनदेखिको लगातारको वर्षाका कारण गाउँमा जोखिम बढेको थियो । प्रुन्दुङमा रहेका १२ घरमध्ये ७ घर पुरिएको हो । अन्य घर पनि उच्च जोखिममा रहेका छन् । गाउँमा मानिस जानसकेका छैनन् । पहिरोको कारण जंगे तामाङ, फुर्वातामाङ, दाइबहादुर तामाङ, रक्से लामा तामाङ, मनोज तामाङ, सिर्वा तामाङ, रामबहादुर तामाङको घर पुरिएर ध्वस्त भएको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ । घरपहिरोमा पुरिएका परिवारको संख्या ४८ रहेको छ । 

प्रुन्दुङमा पहिरो गएपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी गाउँलाई व्यवस्थापन गर्न सकिने ठाउँको पहिचान गर्न र आवश्यक राहतबारे तत्काल जिल्ला विपद व्यवस्थापन समितिलाई जानकारी गराउन गंगाजमुना गाउँपालिकालाई आदेश गरिएको सहायक पमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । 

केही दिनदेखिको अबिरल वर्षाको कारण प्रुन्दुङ लगायतको करङ, चेप्राङ, किचेत देउरालीडाडा, रिचेत, गाम्राङ, गायतको बस्तीहरु जोखिममा परेको छ । यसैगरि खनियाबास गाउँपालिका अन्तचरगत दार्खाको धार्नासमेतका केही गाउँहरु पहिरोका अति जोखिममा रहेको र पानी पर्न थालेपछि गाउँका बासिन्दाले घर छाडेर बस्नु पर्ने बाध्यता रहेको सिलास तामाङले जानकारी दिए । 

भूकम्पपछि जोखिम रहेका गाउँहरु स्थानान्तरण गर्नका लागि भूकम्प पुनर्निर्माण प्राधिकरणले प्राविधिक टोली खटाइ अध्यान गरेपछि यस क्षेत्रका १० बस्ती सार्नु पर्ने भनिएपछि सो क्षेत्रमा मानिसहरु वैकल्पिक व्यवस्था नहुँदा जोखिम मोलेर बसिरहेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...