प्रधानमन्त्रीले रिसाउँदै भने - 'अनि तपाईंहरू के गरिरहनुभएको छ ?'

  • काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्रीहरू, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई राजधानीभित्रका सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

'सरकार जनताका लागि बनेको हो । जनताको समस्यालाई हामीले कुनै पनि हालतमा समाधान गर्नुपर्छ । काठमाडौंमा सडक कि पोखरी हो चिन्न नसक्ने भएका छन् । स्कुलका विद्यार्थी हिँड्दा(हिँड्दै ढलमा पसेका छन्', प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, 'खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ । तपाईंहरू के गरिरहनुभएको छ ? काठमाडौं उपत्यकाका खाल्डाहरू तत्काल पुर्नुहोस्, त्यसका लागि थप बजेट चाहिए म उपलब्ध गराउँछु ।'

उनले सरोकारवाला निकायका प्रमुखलाई तत्काल फिल्डमा खटिएर समस्या समाधान गर्न पनि निर्देशन दिएका थिए । 'तपाईंहरूले आजै फिल्डमा गएर निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौंका खाल्डाहरू पुर्नुहोस्, फुटेका ढलहरू बनाउनुहोस् । ढलेका बिजुलीको पोल गाँड्नुहोस्', उनले भने, 'मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डाखुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् । अबदेखि एकीकृत योजना बनाएर समन्वय र सहकार्यमा काम गर्नुहोस् ।'

२०७४ साउन २ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...