'बाबुरामबाट फर्केकाहरुले भने माओवादी भएर मर्न पाइयोस्'

  • काठमाडौं । 
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० वर्षीय जनयुद्धको समयमा जनताको घरदैलोमा बसेको भन्दै पार्टी जनताको समस्या बुझ्नतर्फ लाग्नुपर्ने बताएका छन् ।

सोमबार माओवादी केन्द्रका संस्थापक दिवंगत नरबहादुर कर्माचार्यको चौथो स्मृति दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

उनले भने, ‘बाबुरामजीकोमा गएर फर्केका साथीहरुले मलाई बडो मार्मिक ढंगले भने अब हामीलाई केही चाहिँदैन माओवादी भएर मर्न पाइयोस्, नयाँ शक्तिले भो अब हामीलाई चाँहिदैन यसले त कता हो कता लग्यो ।’

उनले नयाँ शक्तिमा गएका आफ्ना कार्यकर्ताहरुले केही भविष्य नदेखेर नै माओवादीमा फर्केको जिकिर पनि गरे ।

उनले पछिल्लो समय माओवादीमा जोडिन आएका दर्जनौं युवा साथीहरुले आफूलाई माओवादी एक नहुनु भनेको सहिदप्रति घात गर्नु, अहिलेसम्म गरेका उपब्धिहरुलाई उल्टाउनु हो भने ।

अध्यक्ष प्रचण्डले विभाजित भएका माओवाादीहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले अघि भने, ‘माओवादीलाई उपचार गरेर जनतातर्फ फर्कनुपर्छ । 

जनतामा अझैपनि माओवादी आन्दोलन एकताबद्ध होस् भन्ने चाहना छ । माओवादीका कमि कमजोरी सच्चिएर जाउन भन्ने विचार छ । सबै क्रान्तिकारी सहिद, बेपत्ता र घाइते परिवारहरुको चाहना पनि माओवादीहरु एकै ठाउँमा हुन् भन्ने नै छ ।’

उनले दुई चरणको स्थानीय निर्वाचनले माओवादी मिल्नुपर्ने अवस्था सिर्जना गरेको बताए । उनले थपे, ‘इमान्दार क्रान्तिकारीहरु सबैलाई माओवादी केन्द्र नै मूलधार भएको लागेको छ । अब माओवादीमा नफर्के घात हुन्छ भन्ने मैले देखेको छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिलेकाहीँ विवाद, कहिले मनोगतवाद आदि कारणले माओवादी विभाजित भएको बताउँदै सबैले एकचोटी छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको बताए ।

उनले स्वर्गिय नरबहादुरको चाहना सबै कम्युनिष्ट एकताबद्ध हुनुपर्छ भन्ने चाहना रहेको पनि बताए ।

२०७४ साउन १० गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...