रेणुसँग हारेपछि पहिलो पटक बोले देवी ज्ञवाली, भन्छन्- मैले देउवा र प्रचण्डलाई हराए..


काठमाडौं । 

स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेद्धारा रेणु दाहाल झिनो मतअन्तरबाट बिजय भइन ।

 तर प्रतिस्पर्धी एमाले उम्मेद्धार देवी ज्ञवालीले रेणु दाहालसँग भन्दा पैसा र सत्तासँग पराजित भएको प्रतिक्रिया दिएका छन् ।

‘म रेणुसँग चुनाव लडेको थिइन, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडेको थिएँ’, एसकाठमाडौंसँग कुरा गर्दै ज्ञवालीले भने ‘मैले देउवा र प्रचण्ड दुवैलाई पराजित पनि गरेको थिएँ, तर सत्ता र पैसासँग पराजित भएँ ।’

पहिलो चरणको निर्वाचनमा प्रचण्ड र देउवालाई पराजित गरेको तर उनीहरुले सत्ताको दुरुपयोग गरी निर्वाचन परिणामलाई उल्ट्याएको बताए । निर्वाचन हार्ने निश्चित भएपछि कांग्रेस माओवादी गठबन्धनकी उम्मेद्धार रेणु दाहालका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसपछि पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोग र सर्वाेच्च अदालतले गरेका थिए ।

‘पहिलो चरणको निर्वाचनबाट आत्तिएकाहरु दोस्रो चरणमा एमालेबिरुद्ध एकढिक्का भए’, ज्ञवालीले भने ‘१९ नम्वर वडामा ५० मतले मात्र पछाडी थिँए, दोस्रो चरणमा निर्वाचन गराउँदा पैसा र सत्ताको आडमा ५२९ मतले पछाडी पारे, मतपत्र च्यात्नुको उदेश्य पुरा भयो ।’

उनले १९ नम्वर वडामा करोडौ रकम बाँडेको आरोप समेत लगाए । निर्वाचनभन्दा पहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा एक अर्ब रुपैया निर्वाचलनलाई लक्षित गरी चितवन पठाइएको थियो । त्यसले केही काम गर्न नसकेपछि दोस्रो चरणमा करोडौ रकम बाँडिएको ज्ञवालीले आरोप लगाए । ‘मैले स्थानीय प्रशासनलाई पैसा बाँडेको जानकारी पनि गराएको थिएँ, तर मौन बस्यो, जनतापनि लाभबाट माथी उड्न सकेनन्’, ज्ञवालीले भने ।

२०७4 साउन २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...