ठेकेदारको लापरवाहीले ४ छोरीको ज्यान गएपछि शोकमा डुब्यो रौतहटको गरुडा

  • रौतहट । 
सडक निर्माणका क्रममा गरुडामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएका चार बालिकाको शवसहित आइतबार स्थानीयवासीले बजारको मुख्य चोकमा प्रदर्शन गरेका छन् । 

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर र निर्माण व्यवसायीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको आरोपमा स्थानीयवासीले शवसहित प्रदर्शन गरेका हुन् । बालिकाका आफन्त तथा स्थानीय बासिन्दाले सडक विभाग र निर्माण व्यवसायीको लापरबाहीका कारण बालिकाको ज्यान गएको भन्दै बिहानैदेखि गरुडाको राजमार्गमा शव राखेर चक्काजाम समेत गरेका थिए । 

रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतकका परिवारलाई किरिया खर्चबापत रु २५ हजार दिने र दोषीलाई कारबाही गर्ने सहमति भएपछि चक्काजाम खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत मृतकका आफन्तलाइ सो रकम उपलब्ध गराइएको प्रहरी उपरिक्षक पोखरेलले बताए। 

प्रहरीले सडक निर्माणको ठेक्का लिएका दुर्गा निर्माण सेवाका सञ्चालक ठेकेदार प्रल्हाद साहलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । गरुडामा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर शनिबार संगीताकुमारी साह, मुनीताकुमारी साह, सुस्मिताकुमारी साह र सुनैनाकुमारी साहको ज्यान गएको थियो । धानको बीउ उखेलेर घर फर्कने क्रममा गर्मी भएपछि नुहाउन ती बालिका सडकको खाल्डोमा जमेको पानीमा पसेका थिए ।

यो घटनाले सिंगो गरुडा शोकमा डुबेको छ । सडक निर्माणका बेला स्थानीयले खेतको माटो झिक्नुको सट्टा बाहिरबाट ल्याउन आग्रह गरेका थिए । तर, ठेकेदारले सुनेन । खेतकै माटो झिकेर बाटो बनाएको ठेकेदारले खाल्डो पुर्न ध्यान दिएन । नत, खाल्डो वरिपरि छेकबार नै लगायो । लगातार तीन दिन पानी परेपछि सडक छेउ झण्डै ९ फिटको खाल्डो बन्यो ।

त्यही खाल्डोमा जम्मा भएको पानीमा डुबेर शनिबार साह परिवारका तीन दाजुभाइका चार छोरीको इहलिला समाप्त भयो । मृतक बालिका मध्ये संगिता १२ वर्षकी हुन् भने सुनिता, सुनैना र सुस्मिता ९ वर्षका थिए ।

अत्याधिक गर्मी छल्न र साथीहरुसँग पौडी खेल्ने क्रममा रौतहटमा ०७३ साउनदेखि ०७४ साउनको एक वर्षको अवधिमा ११ जना बालबालिकाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

२०७४ साउन २२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...