महन्थ ठाकुरको राजपा फुट्ने निश्चित, को-को जादै छन् पार्टी छोडेर ? हेर्नुहोस् नामसहित

  • काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ ।

त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । 

बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी समूहले अध्यक्ष महन्थ ठाकुरलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट पार्टी अगाडि बढ्न सुझाव दिएका छन् । अध्यक्षमण्डलका राजेन्द्र महतो, राजकिशोर यादव र अनिलकुमार झा आफूहरूभन्दा ‘जुनियर’ रहेको दाबी गर्दै त्रिपाठी समूहले ‘जुनियर’को तल रहेर राजनीतिक जीवन व्यतीत गर्न नसक्ने जानकारी अध्यक्ष ठाकुरलाई दिएको स्रोतले जनाएको छ ।

साविकको तराई-मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालय थापागाउँमा बिहान ९ बजे पुगेका त्रिपाठीसहितका नेताले राजनीतिक समिति गठन गरी पदीय विवाद अन्त्य गर्न आग्रह गरेका थिए । उनीहरूले निर्वाचन आयोगमा पार्टी दर्ताका लागि लगिएको विधान, घोषणापत्रलगायत केन्द्रीय नेतृत्वको सूचीमा ‘सबैलाई केन्द्रीय समिति सदस्य किन भनिएको’ भनी ठाकुरसमक्ष जिज्ञासा राखेका थिए ।

दलको विधान स्पष्ट हुनुपर्ने कि नपर्ने भन्दै उनीहरूले ठाकुरबाहेक अध्यक्षमण्डलका केही नेता समकक्षी र केही जुनियर भएको दाबी गरेका थिए । प्रत्युत्तरमा ठाकुरले ‘जन्मकुण्डली हेरेर राजनीति नचल्ने’ भन्दै ६ वटा पार्टी एकीकरण भई राजपा गठन हुँदा तत्कालीन पार्टी अध्यक्षलाई अध्यक्षमण्डलमा राखिएको जिकिर गरेका थिए । ‘तपाईंहरू पदाधिकारी बैठकमा सहभागी भएर मलाई सघाउनुहोस्’, ठाकुरलाई उद्धृत गर्दै भेटमा सहभागी सांसद साहले अन्नपूर्णसँग भने । जवाफमा पदाधिकारी बैठकमा सहभागी नहुने बताएको उनले सुनाए । ‘२२ गतेदेखि हुने केन्द्रीय समितिको बैठकमा सहभागी हुन्छौं भन्यौं’, उनले भने, ‘केन्द्रीय समितिको बैठकमा नेतृत्वसमक्ष आफ्ना कुरा राख्छौं ।’

महासचिव कौशलेन्द्रकुमार मि श्रले ठाकुर र असन्तुष्ट समूहबीच बिहीबार भएको वार्तापछि उनीहरू चाँडै बैठकमा सहभागी हुने बताए । भने, ‘साथीहरूको मागका सम्बन्धमा अध्यक्ष ठाकुर गम्भीर हुनुहुन्छ । अहिलेको विवादको निकास केन्द्रीय समितिबाटै हुनेछ ।’ साउन १ मा त्रिपाठीको नेतृत्वमा आधा दर्जन सांसदले रुपन्देहीमा भेला गरी अध्यक्षमण्डललाई साउन १५ सम्मको अल्टिमेटम दिएर विधान अनुमोदन गर्न चेतावनी दिएका थिए । अध्यक्षमण्डलका नाममा भएका महत्वपूर्ण निर्णय सच्याउनुपर्ने तथा निर्वाचन आयोगमा बुझाइएको विधान कार्यकर्ता तहले थाहा पाउनुपर्ने उक्त समूहको माग छ ।

सांसद वृजेशकुमार गुप्ताले भने तमलोपाका पदाधिकारी राजपाका पदाधिकारी हुन आधिकारिक पत्र आउनुपर्ने बताए । ‘मौखिक पदाधिकारी स्वीकार गर्र्न सक्दैनैाँ’, उनले भने, ‘केन्द्रीय सदस्य रहेकाले २२ गते सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुन्छौं ।’

पदाधिकारी बैठकमा त्रिपाठी समूहको खोजी

पदाधिकारी बैठकमा बोल्ने क्रममा उर्मिला पाण्डेले राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरू ‘खोइ’ भन्दै उनीहरूको अनुपस्थितिका बारेमा जानकारी माग गरेकी थिइन् । पाण्डेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टी एकीकरणको उद्देश्य एक पक्षलाई भित्र्याउनु र अर्कोलाई गलहत्याउन होइन ।’

अर्का पदाधिकारी जितेन्द्र सिंहले शुक्रबारको बैठकमा त्रिपाठी समूहलाई उपस्थित गराउन अध्यक्षमण्डलको विशेष भूमिका हुनुपर्‍यो भनेका थिए । ‘एकताका साथ अनेकता जन्मिने प्रवृत्तिको अन्त्यका लागि पदाधिकारी बैठक निर्णायक बन्न सक्नुपर्छ’, उनले बैठकमा भनेका थिए, ‘एकथरी बैठकमा बस्ने अर्काेथरी बाहिर रहने ठीक होइन । अध्यक्षमण्डलले त्रिपाठीलगायत नेतृत्वलाई आउने वातावरण बनाउनुपर्छ ।’ आधा दर्जन नेता बेपत्ता भएको अवस्थामा मधेस र मधेसीको मुक्तिका लागि कुरा गर्नुको कुनै औचित्य नरहने उनको भनाइ थियो । 

त्रिपाठी समूहको असहमति

– अध्यक्षमण्डल एकता महाधिवेशनपछि कायमै रहनु
– नीति/विधान, दुईतिहाइ बहुमतबाट निर्णय हुनुपर्ने
– विधानमा सर्वसम्मत निर्णय हुनै नसक्ने
– राजनीतिक समिति गठनमा भएको ढिलाइ
– अध्यक्षमण्डलको नाम लिएर धमाधम महत्वपूर्ण निर्णय

, ,

प्रतिकृया दिनुहोस्

Loading...