भारत जान लागेका प्रधानमन्त्री देउवालाई ९ कम्युनिस्ट पार्टीले दिए यस्ता १५ सुझाव


  • काठमाडौँ । 
प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा जान लागेका शेरबहादुर देउवालाई नेपालका ९ वटा कम्युनिष्ट पार्टीहरुले राष्ट्रियताको मुद्दामा अडिक रहन सुझाब दिएका छन्।

आजदेखि भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक पार्टी र विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

सुझावलाई उनीहरुले ९ वटा बुँदामा सुत्रबद्ध गर्दै संयुक्त सुझाव पत्रमा पेस गरेका छन्। सुझावपत्रमा हस्ताक्षर गर्ने राजनीतिक पार्टी र नेताहरुले नेपालको पञ्चशीलका नीतिमा आधारित तटस्थ परराष्ट्र नीति कार्यान्वयन गर्न, राष्ट्रिय हित संरक्षण गर्ने सवालमा कुनै विवादित र अनुचित कार्य नगर्न सुझाव दिएका छन्।

त्यस्तै उनीहरुले विगतमा भएका गल्ति कमजोरीहरुलाई सच्याउनु पर्ने पनि बताएका छन् ।

यस्ता छन् १५ बुँदा

१. सन् १९५० लगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्ने ।

२. माथिल्लो कर्णाली र अरुण तेस्रो सम्झौता खारेज गर्ने ।

३. महाकाली सन्धि खारेज गर्ने ।

४. विराटनगर स्थित भारतीय सुरक्षा क्याम्प हटाउने ।

५. नेपालको भूमिमा भारतीय एयर मार्सल राख्ने भारतीय पक्षको प्रस्ताव अस्वीकार गर्ने ।

६. नेपालको राष्ट्रिय हित र स्वाभिमान विपरीतको भारतीय पक्षद्वारा प्रस्तावित सुपुर्दगी सन्धि अस्वीकार गर्ने।

७. नेपाल भारतको सिमानामा अन्तर्राष्ट्रिय कानून विपरीत भारतले एकतर्फी रुपमा निर्माण गरेका सडक, बा“ध आदि संरचनाका कारणले नेपालमा ठूलो भूभाग डुबानमा परेको छ । त्यसबाट बचाउनका लागि नदी, खोलाका प्राकृतिक बहावलाई खुला गराउन सीमा नजिकका उक्त संरचनाहरु हटाउने ।

८. कोशी बाँध, गण्डक बाँध र महाकाली व्यारेजले गर्दा वर्षेनी नेपाल र त्यहाँका वासिन्दाहरुले ठूलो क्षति व्यहोर्नु परेको छ । त्यसको क्षतिपूर्ति माग गर्ने ।

९. विगतमा भएका सन्धि सम्झौता अनुसार नेपालले प्राप्त गर्ने भूमि प्राप्त गर्न पहल गर्ने । नेपालको विभिन्न सीमा क्षेत्रमा अतिक्रमण गरिएका भूमि फिर्ता गर्ने । नेपाल भारतको सीमालाई व्यवस्थापन गर्ने ।

१०. नेपाल भारत बीच भएको व्यापार सम्बन्धी सहमति र पारवहनको अधिकार निर्वाध रुपमा कार्यान्वयन गर्ने ।

११. सीमा क्षेत्रका जनतालाई भारतीय सुरक्षाकर्मीद्वारा भएको ज्यादती रोक्ने र पीडितलाई क्षतिपूर्ति दिने ।

१२. तात्कालिक प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेलामा गरेको २५ बु“दे सहमतिमा रहेको नेपालको विदेश नीतिलाई भारतीय विदेश नीति अनुरुप बनाउने प्रावधानहरु हटाउने ।

१३. नेपालस्थित भारतीय दूतावासले नेपाल सरकारलई सूचना मात्र दिएर साना विकास परियोजना सञ्चालन गर्न पाउने विगतको सम्झौताको अवधि समाप्त भएकाले त्यसलाई नवीकरण नगर्ने ।

१४. नेपालमा उत्पादित वस्तुहरु, यातायात र पारवहनका साधनहरुलाई भारत प्रवेशमा नेपालले प्राथमिकता पाउने व्यवस्था मिलाउने ।

१५. राष्ट्रिय हित विपरीत जानेगरी कुनै पनि विवादास्पद र गोप्य सहमति तथा सम्झौता नगर्ने ।

२०७४ भदौ ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...