देउवालाई छक्क पार्नेगरी दिल्लीमा के दिए मोदीले त्यस्तो सरप्राइज !

  • नयाँदिल्ली । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् ।पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइज’ दिएका हुन् ।

नयाँदिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रम चलिरहँदा चियागफका लागि मोदीसँग तत्काल भेटवार्ताको व्यवस्था मिलाइएको अधिकारीहरूले बताएका छन् । नेपाली र भारतीय पक्षले देउवा र मोदीबीचको वार्तामा के भयो भन्ने स्पष्ट खुलाएका छैनन् ।

नेपाली पक्षले मोदीको आग्रहमा उत्साहप्रद भेटवार्ता भएको प्रतिक्रिया दिएको छ । ‘दुई मुलुकबीच उच्चस्तरमा भएको यसखालको भेटले हाम्रो सम्बन्धलाई नयाँ आयाम दिने विश्वास गर्न सकिन्छ । किनकि यसखाले भेट विरलै हुन्छ । मोदीको आग्रहमा आकस्मिक भेट भएको हो’, भ्रमण दलमा सहभागी देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने ।

भारतीय प्रधानमन्त्री मोदीले भेटपछि ट्विटमा भनेका छन्, ‘निकट र मित्रवत छिमेकी नेपालका प्रधानमन्त्री देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु । भोलि हुने बृहत् कुराकानीको प्रतीक्षामा छु ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीले नेपालसँगको सम्बन्धलाई महत्वव दिएकाले यस किसिमको भेट भएको बताए । ‘यो मोदीजीको प्रधानमन्त्री देउवाप्रतिको जेस्चर हो’, उनले भने, ‘भारतले नेपालसँगको सम्बन्धलाई विशेष महत्वव दिएको बुझ्नुपर्छ ।’

उनले देउवा र मोदीबीच के छलफल भयो भन्ने स्पष्ट बताउन चाहेनन् । बिहीबार सरकारी तहमा हुने द्विपक्षीय वार्ताको तयारीका लागि मोदी र देउवाबीच सल्लाह भएको उपाध्यायले बताए ।

‘यो भेटले मोदीले नेपालसँगको सम्बन्धलाई सकारात्मक सन्देश दिन चाहेको देखिन्छ’, उनले भने । परराष्ट्र मन्त्रालयका अधिकारीहरू देउवा र मोदीबीचको वार्ता आकस्मिक रहेको बताउँछन् । ‘मोदीको आग्रहमा आकस्मिक भेट भएको हो । हैदरावाद हाउसमा बिहीबार मध्याह्न सरकारी तहमा हुने भेटअघि आधा घन्टाका लागि समय निर्धारण गरेका थियौं’, भ्रमण दलमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

प्रधानमन्त्री देउवा पत्नी आरजुसहित ५० सदस्यीय प्रतिनिधिमण्डलका साथ बुधबार बिहान ११ः१५ मा दिल्ली आएका हुन् । उनलाई बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री देउवाले दिउँसो नेपाली दूतावास परिसरमा प्रवासी नेपालीलाई सम्बोधन गरे । उनले प्रवासी नेपालीका समस्याबारे आफू अवगत रहेको जनाउँदै यसको समाधानका लागि दुवै मुलुकले विभिन्न तहमा छलफल गर्ने बताए ।

उपचार गराउन भारत आएका नेपालीको समस्या तथा विद्यार्थीको समस्याबारे पनि ध्यानाकर्षण भएको उनले बताए । प्रवासी नेपालीका चार भ्रातृ दलले संयुक्त रूपमा विभिन्न मागसहितको १८ बुँदे ज्ञापनपत्र देउवालाई बुझाएका थिए ।

एसोसिएटेड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डिया (एसोच्याम) ले बुधबार साँझ आयोजना गरेको अन्तक्र्रियामा देउवा सहभागी भएका छन् ।

प्रधानमन्त्री दम्पतीलाई राष्ट्रपति रामनाथ कोविन्दको विशेष आतिथिका रूपमा राष्ट्रपति भवनमा राखिएको छ । भारत सरकारका केन्द्रीय मन्त्रीहरूले देउवासँग राष्ट्रपति भवनमै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

बिहीबार देउवालाई भारतीय सेनाले राष्ट्रपति निवासमै गार्ड अफ अनर दिनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।  आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

बिहीबारै हैदरावाद हाउसमा मोदीसहित सरकारी अधिकारीसँग द्विपक्षीय बैठक हुनेछ । भारत-नेपालबीच विगतमा हस्ताक्षर भई कार्यान्वयनमा आउन नसकेका सम्झौता र सहमति कार्यान्वयनमा छलफल हुने बताइएको छ । त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्नेछन् ।

बैठकपछि विभिन्न सात समझदारीपत्रमा हस्ताक्षर गरेर संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैकेया नायडुसँग देउवाले भेट गर्ने कार्यक्रम छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...