निश्चल : 'ब्याइफ्रेन्डसँग झगडा भयो' म छाँगाबाट खसे...

  • नमिता पौडेल, काठमाडौं ।
आज पनि सधैजस्तो म हतारिएको छु । मनमा उथलपुथल भईरहेको छ । मलाई उसको हरेक दिनको प्रेम कथा सुन्न र जिज्ञासा पोख्न साह्रै रमाईलो लाग्छ । हरेक दिनको भन्दा आज ऊ मसंग भित्र तरिकाले बोल्दैछ, र म सुन्नेछु उसको पुरा कथा । 

उसको जीवनी सुरुवात देखीनै आज ऊ भत्रेछ । उसले मलाई भनेको थियो, दिदि आज हजुर अन्तिम र पुर्ण कथा सुन्दै हुनुहुन्छ । साँझको नौ बज्यो, मैले मेरो कम्प्यूटर खोले र सिधै याहु म्यासेन्जरभित्र छिरे । ऊ आज अघि नै अनलाईन आएको रहेछ, कुराकानी सुरुवात भयो । ऊ बोल्न थाल्यो म चुपचाप सुन्न थाले । उसले आफ्नो कुुरा यसरी सुरु गर्यो....।

हाम्रो पहिलो भेट म मेरो मामघर जाँदा भएको थियो । त्यति वेला म कक्षा ९ मा बढ्थे र सदिक्षा कक्षा ६ मा पढ्थी । मेरो गणीत विषय तुलनात्मक रुपमा धेरै राम्रो थियो । उक्त कुरा मेरो मामाले सदिक्षाको आमालाई सुनाउन भएको थियो । सदिक्षा मेरो माईजुको साईनोबाट आफन्त पर्थी । 

सदिक्षा उसका अभिभावकसंग मेरो मामाघर नजिकै बस्थी । विहान बेलुका उनिहरुले आपसमा गरेको कुराकानी तथा बोलेका आवाज मेरो मामाघरमा सुन्न सकिन्थ्यो । ऊ आफ्नो गृहकार्य गर्ने बेलामा हामी भएको ठाउँमा आउँथी र नजानेको कुरा मसंग सोध्थी । 

झट्ट हेर्दा खासै आकर्शक नभए पनि निकै बाठो हाउभाउ देखाउँथी उ । उसको गणित विषय निकै कमजोर भएतापनि उसको आमाले उसलाई गणितको ट्युसन भने पढाउनु भएको थिएन । मेरो गणित विषयमा राम्रो दख्खल छ भत्रे कुरा थाहा पाएपछि उनको आमाले मलाई काठमाण्डौ बसुन्जेल ट्युसन पढाईदिन आग्रह गर्नुभयो ।

मैले उसलाई पढाए बापत केहि पैसा समेत दिने प्रस्ताव गर्नुभएको थियो । सदिक्षा स्वभावले बोलिरहने पतउरी, पढाईमा खासै रुची नभएकी तथा रुपमा समेत खासै आकर्शक नभएका कारण होला उसलाई पढाउन मलाई अलिकती पनि मन थिएन । घरमा दिनभर एक्लै बस्नुपर्ने र बिहान बेलुकीको समय समेत छिटो नवित्ने कारणले समय व्यतित गर्नका लागी भएपनि पढाउने बिचार गरी पढाउन शुरु गरे । 

बिहान बेलुका दुवै समय ऊ मसंग पढ्न आउथी । रहेको बाँकी समय म त्यही मामा घरमा भएको मामाको किताव निकालेर पढ्थे । शब्दको बिस्तृत ज्ञान नभए तापनी महात्मा गान्धिका किताव निकालेर शब्दकोश अगाडी राखेर पढ्ने गर्दथे । 

रोमियो र जूलिलयट, द ग्रेट ग्याट्सबी जस्ता कितावहरु निकाल्दै दिनको समय ब्यतित गर्न थाले । महात्मा गान्धिको संघर्षको बारेमा पढ्दा मेरो कलिलो मस्तिस्कमा त्यसको प्रभाव परेको थियो । त्यसैगरी रोमियो र जूलिलयटको किताव पढ्दा उनिहरुको प्रेम कथाले छोएको थियो । यस्तै गरेर जुन किताव बढ्दथे त्यसमा डुबेर पात्रहरुलाई कल्पनामा राखेर सोच्ने गर्दथे ।

सदिक्षा झट्ट हेर्दा अलि कालिकालि थिई । त्यहि भएर म उसलाई काली भनेर बोलाउँदथे उ पनि रिसाउदैनथी बरु उल्टै भत्रे गर्थी - 'काली हुँ तो क्या लेकिन दिलवाली हुँ !' हरेक दिन आएर निश्चल दादा भनेर कराउथी । आखा मिच्दै विहानको समयमा मुख नधोई उसलाई ट्युसन पढाउन बस्थे । ऊ बोलको सुनेर कहिलेकाहीं दिक्क पनि लाग्थ्यो । त्यो बोल्ने दिमाग पढाईमा लगाउ, तिम्रो दिमाग कमजोर छैन गणित विषयमा मात्र कमजोर हो, तिम्रो धेरै बोल्ने बानी कम गरेर त्यो समय गणित विषयलाई दियौ भने तिम्रो गणित विषयमा पनि राम्रो प्रगती हुनेछ । 

मेरो कुरा ध्यान दिएर सुन्थी र साँचै परिवर्तन पनि भएजस्तै गरेर मेरो सामु उभिदिन्थी । मैले उसलाई ट्युसन पढाउन थालेको करिव १५ दिन पछि एक दिन सधैझैँ पढ्न आई, तर उसको मुहारमा अध्यारो देखिन्थ्यो अनि उ बोलिनन पनि । सधैको जस्तो चञ्चलता आज थिएन उसमा । 

मलाई अचम्म लाग्यो र मैले उसलाई सोधे, के भयो तिमिलाई आज ? मौनव्रत लिएकी त छैनौ नी ? उसले उत्तर दिनुको साटो उल्टै प्रतिप्रश्न गरी के हो दादा मौनब्रत भनेको ? ब्रत त ममीले बस्नु हुन्छ सुनेकी छु तर यो मौनव्रत त कहिलै लिनुभएको छैन त्यहिभएर थाहा छैन । म मुसुक्क हाँसे र भने तिम्रो ममीले लिने पेट व्रत हो त्यसमा पेट खाली राखिन्छ । मौनव्रत भनेको मुखले लिने व्रत हो, यसमा मुख खाली राखिन्छ र बेलिदैन । मेरो कुरा सुनेर ऊ मज्जले हाँसी । 

मैले फेरी पनि सोधे के भयो तिमिलाई?
उसले भनी – झगडा भयो सुलभसंग ! 
को सुलभ ? मैले सोधे
मेरो ब्याइफ्रेन्ड उसले भनी 
हँ तिम्रो पनि ब्याइफ्रेन्ड .....................? म आश्चर्यमा परे, छाँगाबाट खसेजस्तै भए ।

उसले आफ्नो कक्षामा सुलभ भन्ने केटासंग चलेको अफेयर सुनाई, म दंग परे । नौ कक्षामा पढ्ने मलाई प्रेमको “प” पनि थाहा छैन तर ऊ भने यक्सप्रियन्सको कुरा गर्छे बा ! म त सोच्या सोच्यै भए । 

ट्युसन पढाउन थालेको एक महिना वितिसकेछ, उसको आमाले पकेट मनी भनेर उस्को हातमा एउटा बन्द गरिएको खाम पठाई दिनु भएछ । खाममा ग्लु लगाएर टाँसेको थियो, मैले उक्त खाम टेवलमा राखे र पढाउन थाले । शनिवारको दिन थियो । म पढाउदै जान्थे उ घरिघरि खाममा आँखा सु¥याउँछे । मैले उसलाई फेरी के भयो भनी सोधे ।

खाम खोलेर हेरिस्यो न भन्या कति पैसा रहेछ ? उसले सोधी ।
किन चाहियो नि तिमि लाई ? मैले भने

उसले भनीः अव आज हजुरको तलव आएको दिन धेरै छ भने मोःमो खान लगिस्योन है । 

म मुस्कुराउँदै खाम खोले रु.५८० रहेछ । अनि उसले रु.५०० को नोट देखेर आखा नचाउँदै भनी दादा चिकेन मोःमोः लाई एक प्लेटको ५० रुपैयाँ पर्छ मोःमो म्याजिक भन्ने पसल छ त्यही जाँउ न । ल ल भरे खाजा खाने समयमा जाँउला अहिले पढ । उ मख्ख परी र किताव तिर मन नलागी नलागी हेरी ।

दिउसो हामी मोःमो खान भनी निस्कियौ । भुस्याहा कुकुर बाटोमा हिडेको देख्ने बित्तीकै दादा मलाई कुकुरसंग एकदमै डर लाग्छ भन्दै सदिक्षा मेरो छेउमा आएर मेरो हात समाती हाल्थी । दिन बित्दै जाँदा ऊ मसंग नजिकिदै गई रहेकी थिई । दिन दिनै नयाँ नयाँ कुराहरु लिएर आउथी । कहिलै मैले भनेको कुरा काट्दिनथी, जे भने पनी लुरु लुरु मान्थी । मेरो दिउसोको समयमा साहित्यका पुस्तकहरु पढ्ने बानी बस्न थालेको थियो । 

बिहान बेलुकीको आदत भने सदिक्षा नै थिई । सुरुसुरुमा फतउरी लाग्ने अब उसले बोलेको मन पर्न थालेको थियो । कुदिरहेको समय मेरो बसमा थिएन, लाग्थ्यो एक छिन रातो बत्ति बालेर समयलाई रोकौकी ? किन भने मेरो घर फर्कने समय दिनप्रतिदिन नजिक आई रहेको थियो । अर्कोतर्फ घर परिवार तथा साथीभाईहरुको पनि कमी महसुस भईरहेका थियो । तर समयलाई रोक्न चाँहिन । मानौ काठमाण्डौ बसाईलाई लम्बाउन चाँहिन । 

म फर्कने बसको समय बेलुकी ६ः०० बजे कलंकीबाट निश्चित भयो । घरबाट निश्कने बेलामा काली रुदै रुदै म भएको ठाउँमा आई । उसले पछाडी पट्टी हातमा केहि वस्तु लुकाएकी थिई । सधै नयाँ नयाँ विषय तथा प्रसंगहरु निकालेर आफ्नो जिज्ञासा राख्ने गर्दथी, तर आज उसले पछाडी केही लुकाएको विषयमा मैले जिज्ञासा राखे । 

मेरो जिज्ञासाको उत्तर उसले एक छिनमा भन्छु भनि । उनकी आमा पनि छोरीको गणित विषयमा सुधार आएको मलाई सुनाउँदै धन्यवाद दिदै हुनुहुन्थ्यो । म पनि मन मनै खुसी भई धन्यवाद स्विकादै थिए । म बस चड्ने ठाउँसम्म विदा गर्न मेरो मामाको छोरा छोरीहरुसंग ऊ पनि बस चढाउन आई र म बसमा चढेपछी हातमा एउटा पोष्टकार्ड राखिदिई । अघि देखी हातमा राखेको त्यही पोष्टकार्ड पो रहेछ । मैले खोलिन थपक्क झोला भित्र राखे । 
सायद बाटोमा घर तथा साथीभाईको सम्झना आएका कारण मेरो ध्यान पोष्टकार्ड खोल्नमा लागेन । भोलीपल्ट देखि नै कक्षा १० को पढाई शुरु भयो । आमाले मेरो झोलाबाट कपडाहरु निकालेर त्यो पोष्टकार्ड भने किताव राख्ने रयाकमा राखिदिनु भएछ । १० कक्षाको पढाईको दवाव दिनप्रति दिन बढ्दो थियो । 

पढाईबाट फुर्सद निकाल्न सक्ने समयको सदुपयोग फुटवल खेली गर्दथे । एक दिन मेरो नेपाली कपी हरायो धेरैबेरसम्म खोेज्दा पनि भेटिन । आमाले र्याकमा सफा गर्दा तलपट्टी राखिदिनु भएको रहेछ । कपी फुत्त तान्दा कालीले दिएको पोष्टकार्ड पनि संगै आयो । विस्तारै खोल्न थाल्दा हेरेर टोलाई रहे । लेखिएको थियो: - 'दादा आइ फल इन लभ विथ यू, आइ ब्रेकअप विथ माइ ब्याइफ्रेन्ड विकउज अफ यू । विल यू प्लिज एसेप्ट मि यज युअर गर्लफ्रेन्ड ?' 

यती सानी केटीले कसरी यस्ता कुरा जानेकी ? अफेयर रे ! ब्रेकअप रे ! फेरी प्रपोज रे ! ठुलाले कलीयुग भन्थे, हो रहेछ क्यारे । मन मनै कली युगको बारेमा सोँचे । पढाई रफ्तारमा दगुरीरहेको थियो, एस.एल.सी. को तयारी भब्य भईरहदा काली मेरो दिमागमा आउने चान्स नै पाईन । 

एस.एल.सी. पनि सकियो र पुनः काठमाण्डौ जाने दिन आयो । अव म उसलाई नै सम्झेर मख्ख पर्न थालेको थिए ।... क्रमसः

यो कथाको अर्को भाग हामी आउदो शनिबार प्रकाशित गर्नेछौं ।

२०७४ साउन १७ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...