अन्ततः एक भए प्रचण्ड र ओली, देउवाको प्रधानमन्त्री पद धरापमा ?

  • काठमाडौं ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीस्थित हैदरावाद हाउसमा संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिले अहिले नेपाली राजनीतिक बजार तातेको छ । साथै, यो विषयले सत्ता साझेदार नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई एक ठाउँमा ल्याइदिएको छ ।

भ्रमणका क्रममा गत विहिबार आयोजित नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले बहुमत नपुग्दा संविधान संशोधनको प्रयास असफल भएको जानकारी गराउंदै बहुमत पुगाएर पुनः संशोधन अगाडि बढाउने र पारित गरेर सबै पक्षलाई समेट्ने बचन भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिएका थिए ।

उनको यो अभिव्यक्तिपछि सत्ता सहकार्य गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अधिकांश नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देउवाको अभिव्यक्तिप्रति असन्तुष्ट छन् । एमालेका अन्य नेता कार्यकर्ता पनि विरोधमा छन् ।

यसरी देउवाको अभिव्यक्तिले प्रचण्ड र ओली एक ठाउँमा उभिएका हुन् । दुबैले यसलाई राष्ट्रहित विपरितको अभिव्यक्ति भन्दै आलोचना गरिरहेका छन् ।

माओवादी केन्द्रको यस्तो असन्तुष्टि, सहकार्य तोड्न सक्ने

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि माओवादी केन्द्रमा कांग्रेससँगको गठबन्धन र सहकार्य अन्त्यबारे बहस सुरु भएको छ । अधिकांश नेता कार्यकर्ता देउवाले अती नै गरेकाले साथ छोड्नुपर्ने पक्षमा छन् ।

यही क्रममा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत पुगेर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत भएको बताए । नेपालको आन्तरिक मामिलालाई भारतमा उठाइएको भन्दै उनले आपत्ति जनाए । ‘संविधान संशोधन नेपालको आन्तरिक मामिला हो । यसलाई संसदले टुंग्याइसकेको छ ।

फेरी यो विषय उठाइरहन जरुरी छैन । संसदमा विफल भइसकेको विषयवस्तु भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो,’ प्रचण्डले विरोध गर्दै भने । उनले कांग्रेस सभापतिबाट यस्तै गल्ती भइरहे सहकार्य तोड्ने संकेत पनि गरे ।

एमाले अध्यक्षले एयरपोर्टबाटै गरे कडा शब्दमा विरोध

देउवाको सत्ता साझेदारबाटै विरोध भइरहेको बेला एमालेले पनि कडा शब्दमा विरोध गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देशको स्वाभिमानको धज्जी उडाएको बताए ।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकका जाने क्रममा शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नयाँदिल्लीमा प्रम देउवाले भारतीय नेताहरुसामु दिएको अभिव्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमानविरुद्ध अत्यन्तै लज्जास्पद भएको प्रतिक्रिया दिए ।

प्रसंगविना प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा बोल्नु भारतलाई खुसी पार्नका लागि भएको भन्दै ओलीले संविधान संशोधन पास गर्न नसकेकोमा भारतसमक्ष क्षमा याचना गरेर स्वाभिमानको धज्जी उडाएको बताए । ‘नेपालको गरिमाभन्दा बाहिर गएर राष्ट्रियता, संसदको विषयमा आँच आउने अभिव्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुनसक्छ,’ ओलीले भने ।

यसरी प्रचण्ड र ओली संविधान संशोधनको मुद्दामा एक ठाउँमा उभिएका हुन् । र, माओवादीले कांग्रेससँगको सहकार्य तोडे फेरि एमाले र माओवादीबीच नयाँ गठबन्धन बन्न सक्ने राजनीतिक विश्लेषकहरुको अनुमान छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...