प्रचण्डले नै भने - माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागे

  • काठमाडौँ ।
माओवादी अध्यक्ष प्रचण्डले माओवादी नेता कार्यकर्ताहरु जनता छोडेर ठेकेदार र दलालहरुका पछी लागेको बताएका छन्। 

माओवादी केन्द्र प्रदेश नम्बर २ को निर्वाचन परिचालन समितिले आयोजना गरेको प्रशिक्षणमा सहभागी पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । 

उनले भने, ‘अचेल माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेका छन् । संगठन सखाप भएको छ ।’

उनले थपे, ‘माओवादी संघीयता, गणतन्त्र, समानुपातिकता तथा पहिचानको पक्षधर पार्टी हो र पनि जनताले हामीलाई तेश्रो शक्तिको रुपमा स्वीकारे । हामीले आफ्नै खेतमा उब्जाएको चामल बेच्न सकेनौं, काँग्रेस र एमालले कुहिएको पिठो पनि बेच्न भ्याए ।’

आत्म निर्णयको अधिकारसहितको संघीयता, गणतन्त्र तथा जातीय पहिचानको मुद्दा बुलन्द गर्ने माओवादीलाई जनताले भोट नदिनुको कारण माओवादी नेता तथा कार्यकर्ताहरुको सत्ता र भत्ता लोभ भएको दाहालले जिकीर गरे ।

दाहालले भने, ‘संघीयता विरोधी, धर्मनिरपेक्षता विरोधी, अग्रगमन विरोधी एमालेलाई जनताले भोट दिने अनि हामीलाई नदिने कुनै कारण छैन । हामीले आफ्ना उपलब्धिहरु जनतासम्म पुर्‍याउन सकेनौं ।’

कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई असोज २ गते हुने निर्वाचनमा पहिलो शक्ति बन्ने उद्येश्यका साथ घरदैलो अभियानमा लाग्न निर्देशन समेत दिएका छन् ।

प्रशिक्षण कार्यक्रमलाई पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलसंगै स्वास्थ्य मन्त्री गिरीराजमणि पोख्रेल, सहरी विकास मन्त्री प्रभु साहलगायतले सम्बोधन गरेका थिए । 

माओवादी केन्द्र धनुषाका नेता झल्कु यादवका अनुसार प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका इन्चार्जहरुले निर्वाचन लक्षित प्रतिवेदन प्रस्तूत गरेका थिए ।

२०७४ साउन १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...