आयल निगम जग्गा खरिदको करोडौं घोटाला काण्डमा प्रचण्डपुत्र प्रकाश पनि तानिंदै

  • काठमाडौं ।
नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालसम्म संलग्न रहेको संसदको अध्ययन टोलीले फेला पारेको छ । 

निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरी फर्केको संसदीय टोलीले निगमका कार्यकारी निर्देशक खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको समेत संलग्नता रहेको समाचार आजको नागरिक दैनिकले छापेको छ । 

निगमले जग्गा खरिद गर्दा करिब ६७ करोड रुपैयाँ घोटाला भएको तथ्य प्रकाशित गरेको थियो । निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदको ठहर छ । 

निगमले झापा, सर्लाही, चितवन, भैरहवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले बताए ।

मानन्धर जग्गा अनियमितता छानबिन समितिका सदस्य हुन । ‘जग्गा खरिदमा करिब दुई अर्ब रुपैयाँ खर्च भएको देखिए पनि ५० करोड रुपैयाँभन्दा धेरै जग्गाधनीले पाएका छैनन्’ मानन्धरले भने, ‘डेढ अर्ब रुपैयाँ अनियमितता भएको देखिन्छ ।’ झापामा किनिएको जग्गा हेर्न तत्कालीन मन्त्री दीपक बोहोरा मास्क लगाएर गएको मानन्धरले बताए ।

‘मन्त्री नै मास्क लगाएर गएको सूचना हामीसँग छ,’ मानन्धरले भने, ‘प्रधानमन्त्रीका छोराको पनि संलग्ता रहेको सुनियो ।’ सांसद मानन्धरले घुमाउरो रुपमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पनि संलग्नता रहेको संकेत गरे ।

संसदीय समितिले अनियमितता भएको ठहर गर्दै कारबाहीका लागि सिफारिस गर्दा पनि निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगयात उच्च अधिकारीलाई निलम्बन नगरिएकोमा सांसदले आपत्ति जनाएका छन् । जग्गा खरिदमा ठूलो भ्रष्टाचार भएकाले संलग्न अधिकारीलाई कारबाही दायरामा ल्याएरै छाड्ने सांसदको अठोट छ ।

अनियमितता अध्ययन गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका चार सदस्य झापा, सर्लाही, चिवतन र भैरहवामा पुगेर फर्किएका छन् । संसदीय समिति स्थलगत अध्ययनपछि जग्गाधनी, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालासँग छलफल गरेर फर्किएको हो ।

जग्गा प्राप्ति ऐन र संसदीय समितिको निर्देशन मिचेका निगमका अधिकारीले आफ्नै सञ्चालक समितिको मापदण्ड र दिर्देशन पनि मिचेर जग्गा खरिद गरेको देखिएको छ । ‘सर्लाहीमा पाँच बिघा किन्न सञ्चालक समितिले अनुमति दिएकोमा १५ बिघा किनिएको छ,’ मानन्धरले भने, ‘यसबाटै ठूलो आर्थिक चलखेल गरिएको छ ।’

सर्लाहीका स्थानीय तह निकायले पनि झुट काम गरेको उनले बताए । ‘स्थानीय तहबाट सरकारी दररेट अनुसार ३३ हजारको जग्गालाई प्रतिकट्ठा १८ लाख रुपैयाँ सिफारिस भएको छ,’ उनले भने । सिफारिससम्बन्धी चितवन, सर्लाही, झापामा स्थानीय तहको लेटरप्याडमा प्रयोग गरिएका अक्षर एउटै भएकाले मिलेमतोको पुष्टि भएको उनले वताए ।

जग्गा एजेन्टले चलनचल्तीको रेट धेरै देखाउन स्थानीय तहका कर्मचारीलाई एक÷डेढ लाख रुपैयाँको प्रलोभनमा पारी आफैले लेटरप्याडमा लेखेर सही गराएको मानन्धरले बताए । सर्लाहीमा बुझाउनुपर्नेभन्दा धेरै ६ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।

जग्गा खरिदमा मालपोत र नापी कार्यालयका अधिकारीको पनि मिलेमतो भेटिएको सांसद दीपक कार्कीले बताए । ‘हाकाहाकी ठाडो भ्रष्टाचार भएको छ,’ कार्कीले भने, ‘बिचौलियाले खाएको रकम फिर्ता गर्नुपर्छ ।’ कानुनलाई देखाएर तर्साउने काम भए पनि संसदीय समिति पछि नहट्ने उनको भनाई थियो । ‘राज्यको स्रोत दोहन भएको छ,’ कार्कीले भने ‘कानुनमा कमजोरी भए पनि सच्याएर कारबाही गरिन्छ ।’

झापामा १२–१५ लाख रुपैयाँमा एक बिघा (२० कट्ठा) जग्गा पाइन्छ तर निगमले एक कट्ठालाई नै १३ लाख ५१ हजारमा किनेको छ । झापा र सर्लाहीमा मात्र करिब ६० करोड रुपैयाँ घोटाला भएको कार्कीको दाबी छ । झापामा ४० र सर्लाहीमा २० करोड अनियमितता भएको उनले वताए ।

सर्लाहीका स्थानीयलाई जागिर लगाइदिने प्रलोभनसमेत निगमका अधिकारीले दिएको पाइएको कार्कीले बताए । ‘दुई लाख २५ हजारदेखि तीन लाख रुपैयाँमा पाइने जमिनलाई नौ लाख ६१ हजार रुपैयाँ तिरेको पाइएको उनले वताए ।

२०७४ भदौ १४ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...