ज्यादती सहन नसकिने भन्दै सुस्ताबासीले भत्काए भारतीय बाँध

  • नवलपरासी । 
भारतीय ज्यादती सहन नसकेपछि सुस्तबासीले भारतले बनाएको एकतर्फी बाँध भत्काई दिएका छन् ।

एकतर्फी रुपमा सीमामा बनाएको बाँधका कारण सुस्ताका नेपाली बस्ती, जमिन डुबानमा परेपछि बच्नका लागि सुस्ताबासीले बाँध भत्काएर विद्रोह गरेका हुन् । बस्ती डुबानमा परेर मानवीय क्षति हुँदा समेत बाँध नखोलिदिएपछि ५०० को संख्यामा आएका आक्रोशित स्थानीयले पश्चिम गण्डक नहरका भारततर्फ जाने नहरको बाँध भत्काएका छन् ।

स्थानीय प्रशासनले नभत्काउन आग्रहलाई कुल्चँदै स्थानयबासीले विद्रोह गरेका छन् । हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको छ । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु माग गर्दै फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । अहिलेसम्म १५ मिटर बाँध भत्काइसकेका छन् ।

स्थानीय प्रशासनले रोक्ने प्रयास गरिरहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको र विद्युत उत्पादनपछि पानीलाई भारतले सिंचाईका लागि एकोहोरो लगिरहेको छ ।

२०७४ भदौ १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...