ललाइफकाई बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

  • महोत्तरी । 
ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय शिक्षक प्रमोद महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

गत साउन १७ गते शिक्षकले ती युवतीलाई भगाएर भारतको सीतामढी लगी बन्धक बनाई बलात्कार गरेको आरोपमा महतोलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

औरहीकै स्थानीयबासी १४ वर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले केही दिनदेखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।

एक वर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई ट्युसन पढाउने गरेको र त्यही समयदेखि बालिकालाई ललाइफकाई करणी गर्दै आएको इप्रका गौशालाले जनाएको छ ।

कक्षा ८ मा पढ्दै गरेकी ती बालिका साउन १७ गते साँझदेखि घरमा नभेटिएपछि अभिभावकले प्रहरीसमक्ष गुहार गरेका थिए । प्रहरीले अभिभावकको सहयोगमा बालिकालाई साउन २१ गते उद्धार गरी नेपाल ल्याएको थियो ।

बलात्कृत बालिकाको मेडिकल जाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । यता आरोपित शिक्षकमाथि जबरजस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता भई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए । 

२०७४ साउन २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...