मतगणना अन्तिम चरणमा

  • काठमाडौँ, ९ असोज ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । चुनाव सम्पन्न भएपछि असोज ३ गतेदेखि सुरु भएको मतगणनाबाट आइतबार राति अबेरसम्ममा १२९ स्थानीय तहको परिणाम सार्वजनिक भइसकेका छन् भने सात तहको मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

बाँकी रहेका मतगणनाको प्रारम्भिक नतिजाअनुसार तीन स्थानमा सङ्घीय समाजवादी फोरम नेपाल, दुई स्थानमा काँग्रेस र दुई स्थानमा एमालेले अग्रता लिएको छ । 

राती १० बजेसम्मको मतपरिणामअनुसार वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा फोरम नेपालका विजय सरावगीले अग्रता लिएका छन् । सरावगीले ११ हजार ६८२ र उहाँका प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीले ११ हजार ४७२ मत ल्याएका छन् ।

त्यस्तै रौतहटको गरुडा नगरपालिकामा फोरम नेपालका इन्दुराय यादव अग्रस्थानमा छन् । उनलाई काँग्रेसका सुनिल यादवले पछ्याइरहेका छन् । 

राजविराज नगरपालिकामा फोरम नेपालकै भीमराज यादव अग्रस्थानमा छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार विजयी भएका छन् भने कलैया उपमहानगरपालिकामा पनि एमाले अग्रस्थानमा छ ।

प्रमुख पदमा एमालेका विनोदप्रसाद साह सात हजार ६८९ र उपप्रमुखमा प्रतिमादेवी यादव सात हजार ४२२ मत ल्याएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा काँग्रेसका राजेशराय यादवले प्रमुख पदमा सात हजार ४५६ र उपप्रमुखमा रहिमा खातुनले सात हजार १०५ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै कोल्हवी नगरपालिकाको प्रमुखमा एमालेका भरतबहादुर भण्डारी अग्रस्थानमा हुनुहुन्छ उनलाई काँग्रेसका मुरलीधर चौधरीले पछ्याइरहेकी छन् । मतगणना अन्तिम अवस्थामा पुगेको छ ।

त्यस्तै धनुषाको सवैला नगरपालिकाको प्रमुखमा काँग्रेसका विजयशङ्कर प्रसाद साह ४२ मतले अग्रस्थानमा छन् । उनले चार हजार ७५६ मत प्राप्त गरेका छन् भने उनलाई माओवादी केन्द्रका तेजनारायण यादवले चार हजार ७१४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै बाराको बारागढी गाउँपालिकाको प्रमुखमा देवदत्तबहादुर थारू अग्रस्थानमा हुनुहुन्छ भने फोरम नेपालका अशोककुमार जैसवालले पछ्याइरहेका छन्।

राति १० बजेसम्म सार्वजनिक मत परिणामअनुसार नेपाली काँग्रेस नै अग्रस्थानमा छ । काँग्रेसले ३७ स्थान जितेको छ भने दोस्रो स्थानका लागि राजपा नेपाल र फोरम नेपालबीच प्रतिस्पर्धा देखिएको छ ।

दुवै दलले २४–२४ स्थान जितेका छन् । फोरम नेपालले तीन स्थानमा अग्रता लिएका कारण दोस्रो स्थान हासिल गर्ने सम्भावना बढी छ । त्यस्तै एमालेले १७ स्थान हासिल गरेको छ भने दुई स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले २१, लोकतान्त्रिक फोरमले तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टीले एक स्थानमा जितेको छ ।

स्थानीय तहको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको सम्भावित राजधानीका रूपमा परिचित जनकपुर उपमहानगरपालिकामा राजपा नेपालले जित हात पारेको छ । मेयरका लागि राजपाका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मनोज साहले १० हजार ७३९ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा राजपाकै रीता झा १७ हजार १४७ मत प्रप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै नीलम कर्णले १० हजार ६०५ मत प्राप्त गरेका छन् । गोरखापत्रमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...