नेपालमा डेढ करोडले चलाउँछन् इन्टरनेट

  • काठमाडौँ ।

दूरसञ्चारको पहुँच व्यापक विस्तार भइरहँदा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या पनि त्यसैअनुसार बढ्दै गएको छ। नेपाल दुरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार देशभर एक करोड ५५ लाख ५६ हजारले  इन्टरनेट  प्रयोग गरिरहेका छन्। यो कुल जनसङ्ख्याको ५८.७२ प्रतिशत हो। 

दुरसञ्चार सेवा प्रदायकबीच मोबाइल  इन्टरनेटको पहुँच विस्तारमा भएको प्रतिस्पर्धाले  इन्टरनेट प्रयोग गर्नेको सङ्ख्यामा व्यापक वृद्धि आएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। 

तथ्याङ्क अनुसार कुल इन्टरनेट प्रयोगकर्तामध्ये एक करोड ४९ लाख ३० हजारले मोबाइलबाटै  इन्टरनेट प्रयोग गर्छन्। यसमध्ये ८० लाख १३ हजारले नेपाल टेलिकमको  इन्टरनेट प्रयोग गर्छन्। एनसेलका मोबाइल  इन्टरनेट प्रयोगकर्ता ६७ लाख ८३ हजार पुगेका छन्। त्यस्तै एक लाख ३४ हजारले स्मार्ट टेलिकमले उपलब्ध गराएको मोबाइल  इन्टरनेट प्रयोग गरिरहेको प्राधिकरणको तथ्याङ्क छ।

नेपालमा अहिले सेवा प्रदायकले मोबाइलबाहेक डायल अप, वायरलेस, अप्टिकल फाइबर, एडीएसएल, सीडीएमए, इभीडीओ, वाइम्याक्स र भीस्याटमार्फत पनि  इन्टरनेट उपलब्ध गराइरहेका छन्। 

पुरानो प्रविधिको डायलअपका प्रयोगकर्ता पाँच हजार हाराहारी छन्। निजी  इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराइरहेको वायरलेस  इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब ५६ हजार पुगेको छ। 

केवल मोडर र अप्टिकल फाइबरबाट एक लाख ७० हजारले  इन्टरनेट सेवा लिइरहेका छन्। यस्तो सेवा पनि निजी  इन्टरनेट सेवा प्रदायकले मात्रै उपलब्ध गराएका छन्। 

अप्टिकल फाइबर  इन्टरनेट तुलनात्मक रूपमा गुणस्तरीय मानिन्छ। त्यस्तै नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइनमा आधारित एडीएसएल प्रयोगकर्ता एक लाख ७८ हजार पुगेका छन्। 

टेलिकमले यही असारदेखि एडीएसएललाई  इन्टरनेटमा आधारित प्रविधिमा रुपान्तरण गरिसकेको छ। सीडीएमए र इभीडीओका संयुक्त प्रयोगकर्ता एक लाख ३६ हजार रहेका छन्। 

चौथो पुस्ताको  इन्टरनेट मानिने वाइम्याक्स प्रयोगकर्ता १६ हजारमाथि छन्। विकट क्षेत्रमा दुरसञ्चार सेवाको लागि प्रयोग गरिने भीस्याट प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्ने १३ जना रहेको प्राधिकरणको तथ्याङ्क छ।

सरकारले सन् २०२० सम्म नेपालभर ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने लक्ष्यसहित अप्टिकल फाइबर बिछ्याउने प्रक्रिया पनि अघि बढाएको छ। यो खबर विश्वास रेग्मीले आजको गोरखापत्रमा लेखेका छन्।

यसैअन्तर्गत सङ्घीय संरचना अनुसारका विभिन्न प्रदेशमा ग्रामीण दुरसञ्चार विकास कोष (आरटीडीएफ)मा सङ्कलन रहेको रकम प्रयोग गरी अप्किटकल फाइबर बिछ्याउने तथा नेटवर्क विस्तार गर्ने कामका लागि सेवा प्रदायकसमेत छनोट गरिसकेको छ। 

त्यस्तै विभिन्न जिल्लामा दुरसञ्चार पूर्वाधार विकासका लागि पनि आवेदन माग गरिएको अवस्था छ। गत पुषदेखि नेपालमै पहिलोपटक विश्वभर प्रचलित रहेको फोरजी  इन्टरनेट पनि सुरु भइसकेको छ। नेपाल टेलिकम र एनसेलले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि यो सेवा उपलब्ध गराइरहेका छन्।

२०७४ भदौ १६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...