२ नम्बर प्रदेशमा चुनाव जित्न दलहरुले बनाए यस्तो अनौठो रणनीति !

  • काठमाडौं ।
असोज २ गते हुने प्रदेश २ को स्थानीय निर्वाचनलाई दलहरूले राजनीतिक अस्तित्वको लडाइँका रूपमा लिएका छन् ।

कांग्रेस, एमाले र माओवादी मात्रै होइन, राजपाले समेत प्रदेश २ का आठ जिल्लामा सम्पूर्ण शक्ति केन्द्रित गरिरहेका छन् । चारवटै दलले धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा र रौतहटका एक सय ३६ स्थानीय तहमा जसरी पनि पहिलो बन्ने रणनीतिमा छन् । 

ती चारवटै दलले एक्लै लड्नेदेखि तालमेल गरेर चुनावमा होमिनेसम्मका नीति तय गरेका छन् । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।

प्रदेश २ लाई कांग्रेसले आफ्नो बाहुल्य र प्रजातान्त्रिक आन्दोलनको सात दशक लामो इतिहाससँग जोडेर लिएको छ । पहिलो र दोस्रो निर्वाचनमा भएको पराजयलाई ध्यानमा राख्दै विशेष गृहकार्यका साथ चुनावी मैदानमा रहेको दाबी उसले गरेको छ । एमालेले कम्युनिस्टको राजनीतिक उर्वरभूमि भएकाले अघिल्ला निर्वाचनमा पाएको मतको सम्मान गर्ने गरी प्रदेश २ मा जित हासिल गर्ने दाबी गरेको छ ।

माओवादी केन्द्र संविधान निर्माणदेखि दोस्रो संशोधनसम्म मधेसका लागि खेलेको भूमिका र बढ्दो संगठन विस्तारका कारण चुनावमा पहिलो पार्टी हुनेमा विश्वस्त छ । राजपा नेपालले सिंहदबारको राज्यव्यवस्थाले मधेस र मधेसीलाई राज्य सञ्चालनक्रमदेखि नै गरेको अस्वीकार र संविधानमा रहेका ३६ वटा मधेसविरोधी धारा र उपधारा संशोधनका लागि भएका आन्दोलन र जनसहभागितालाई जित्ने आधार मानेको छ ।

कांग्रेस नेता पहिलो र दोस्रो निर्वाचनको क्षतिपूर्ति प्रदेश २ बाट बाट गर्ने योजनामा छन् । ‘प्रदेश २ को निर्वाचन परिणामपछि कांग्रेस मुलुककै पहिलो पार्टी बन्छ’, कांग्रेस केन्द्रीय सदस्य एवं कृषिमन्त्री रामकृष्ण यादवले भने, ‘स्थानीय स्तरको सिफारिसमा उम्मेदवार चयन गरेका छौं, घात-अन्तर्घात अन्त्य गरेका छौं । केन्द्रको नीतिअनुसार सत्तापक्ष र राजपासँग स्थानीय नेतृत्वको सुझाव र सल्लाहमा चुनावी तालमेल पनि गर्छैां ।’ उम्मेदवार चयनदेखि चुनावी कार्यक्रम र घोषणापत्रका आधारमा घरदैलोमा कांग्रेस सहभागी भइरहेको यादवले जानकारी दिए ।

केन्द्रीय सदस्य रमेश रिजालले कांग्रेस विशेष अभियानसाथ जनताबीच रहेको बताए । ‘वीरगन्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा कांग्रेसपहिलो हुन्छ’, उनले भने । पहिलो र दोस्रो निर्वाचन परिणामलाई हेरेर जनताकै सुझाबमा चुनावी अभियान अघि बढाएको दाबी उनले गरे ।

एमाले पोलिट्ब्युरो सदस्य शत्रुघ्नप्रसाद महतोले सत्ताको नेतृत्व लिएको कांग्रेसबाहेक कुनै पनि पार्टीसँग स्थानीय स्तरमा चुनावी एकता गर्न केन्द्रबाट परिपत्र भइसकेको बताए ।

एक प्रश्नको उत्तरमा महतोले भने, ‘केन्द्रबाट चुनावी एकताका लागि पार्टी आएको परिपत्रको ‘क्लस्टर’मा राजपा पनि पर्छ ।’ अन्य दलसँगको तालमेल मनोनयन दर्तापछि पनि हुने उनले बताए । प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलले मधेसको समग्र परिस्थितिलाई बुझेको एमालेले सोहीअनुसार उम्मेदवार छनोटदेखि चुनावी कार्यक्रमसम्म अघि बढाएको जानकारी दिए । तराईको गरिबी, पछौटेपन, आन्तरिक विभेद तथा रुपान्तरणको एजेन्डासाथ मधेसी बस्तीमा आफूहरू रहेको मण्डलले बताए । यो चुनावले मधेसमा रहेको विखण्डनको चर्चालाई अन्त्य गर्ने उनको दाबी छ ।

माओवादी केन्द्रका नेता उमेशकुमार यादवले केन्द्रले स्थानीयस्तरमा चुनावी एकता गर्ने अधिकार दिएको बताए । ‘चुनावी एकता सत्तापक्षसँगै हुन्छ’, उनले भने, ‘अन्य दलसँग पनि अछुतको व्यवहार भने हुँदैन ।’ माओवादीले सम्मानजनक स्थान हासिल गर्ने दाबी उनले गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल स्वयं प्रदेश २ का जनताबीच रहेकाले पनि यो चुनाव माओवादीको पक्षमा आउने उनले बताए ।

राजपा अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादवले स्थानीयस्तरमा संविधान संशोधनको पक्षमा मतदान गर्ने पार्टीसँग चुनावी तालमेल हुने बताए । १३ महिने आन्दोलनक्रममा मधेस र मधेसीको अधिकारका लागि लड्ने मधेसी जनतालाई जितको आधार बनाएको यादवको भनाइ छ ।

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानको मुद्दा लिएरै जनताबीच जाने उनले बताए । राजपाका महामन्त्री मनीषकुमार सुमनले संविधानमा संशोधन पक्षधर शक्तिसँग चुनावी एकता हुने जानकारी दिए । पहिलो प्राथमिकता भने लोकतान्त्रिक मधेसी फोरम, संघीय समाजवादी फोरम नेपाललगायत मधेसी दललाई नै दिने उनले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...