खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छ : मन्त्री केसी


काठमाडौँ । 
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताएका छन् ।

नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ एकाई समितिले बुधबार आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको आकर्षण बढ्दै गएको बताए । 

“फुटसल खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छ,”– मन्त्री केसीले भने । उनले सबैका लागि खेल, राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भएकाले खेल क्षेत्रको विकास आवश्यक रहेको बताए । 

मन्त्री केसीले नेपालको प्रजातन्त्र प्राप्ति र मुलुकको विकासको आन्दोलनमा स्व गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँको स्मृतिमा उक्त प्रतियोगिता राखेर राम्रो काम गरेको बताए । उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

बुधबारदेखि शुरु भएको उक्त प्रतियोगिता यही भदौ ३१ गतेसम्म चल्ने नेपाल तरुण दल, काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए । 

२०७४ भदौ २८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...