कति घण्टा ओभरटाइम गर्थिन ति पत्रकार ? जसको धेरै काम गरेकै कारण गयो ज्यान !

  • जापान ।
दैनिक धेरै घण्टा काम गरेका कारण जापानको सरकारी प्रशारण संस्था एनएचकेकी एक महिला पत्रकारको मृत्यु भएको छ। एक महिनामा १५९ घण्टासम्म ‘ओभर टाइम’ गरेकी पत्रकार मिवा साडोको हृदयघातका कारण निधन भएको संस्थाले जानकारी दिएको समाचारमाध्यम सिएनएनले जनाएको छ।

सिएनएनका अनुसार मिवाको निधन सन् २०१३ जुलाईमै भए पनि यसबारे संस्थाले हालमात्र जानकारी दिएको हो।

राजनीतिक रिपोर्टिङ गर्ने ३१ वर्षीय मिवाले मृत्यु हुनुभन्दाको अघिल्लो महिना १५९ घण्टा ‘ओभर टाइम’ गरेकी थिइन्। एनएचके मुख्यालय टोकियोमा काम गर्ने उनले महिनामा दुई दिनमात्र विदा लिएकी थिइन्।

उक्त महिना मिवा स्थानीय चुनावको रिपोर्टिङमा व्यस्त थिइन्। चुनाव नतिजा आएको तीन दिनपछि ओछ्यानमा हातमा मोबाइल च्यापिरहेको अवस्थामा उनको निधन भएको थियो। अधिक काम भएपछि हृदयघातका कारण उनको मृत्यु भएको श्रम विभागले गरेको परीक्षणमा देखिएको थियो।

जापानमा साताको छ दिन दैनिक १३ घण्टाका दरले काम गर्नुपर्ने नियम छ। यसबाहेक ओभरटाइम कार्यभारले धेरै कर्मचारीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ।

एक सरकारी अध्ययनले जापानमा प्रत्येक ५ कर्मचारीमा एक जनाको अधिक काम बोझकै कारण मृत्यु हुने सम्भावना देखाएको छ।

सन् २०१५ अप्रिलमा पनि देन्त्सु कम्पनीमा काम गर्ने मात्सुरी ताकाहाशीले आत्महत्या गरेकी थिइन् जसको कारण ‘अधिक काम’ भएको श्रम विभागको रिपोर्टमा उल्लेख छ।

यो घटनापछि जापानमा धेरै घण्टा काम गर्ने विषयमा निकै बहस भयो। सरकारले ओभरटाइमको सीमा प्रतिमहिना १०० घण्टा राख्नुपर्ने प्रस्ताव राखेको छ। तर, अझै पनि धेरै कम्पनीहरूले यसबारे कुनै चासो दिएका छैनन्।

एनएचकेले भने काम बोझका कारण आफ्नो रिपोर्टरको मृत्यु हुनु निकै गम्भीर भएको भन्दै रिपोर्टरको कार्य मापदण्ड सुधार्न अनुरोध गरेको बताएको छ। यसमा मिवाको परिवारले पनि साथ दिइरहेको सिएनएनले जनाएको छ।
२०७४ असोज २० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...