पार्टी फेर्ने नेतालाई उम्मेदवार नबनाइने

  • काठमाडौंँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम (ससफो) नेपालले पार्टी फेरबदल गरेका नेतालाई प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने सहमति गरेका छन् ।

चुनावी तालमेलका लागि गठन गरेको कार्यदलले स्थानीय तहको चुनाव सम्पन्नपछि राजपा नेपालबाट ससफो नेपाल र ससफोबाट राजपा नेपालमा गएका नेताहरूलाई प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा उम्मेदवार नबनाउने सहमति भएको कार्यदलका सदस्य एवं राजपा नेपालका महासचिव मनिष सुमनले जानकारी गराए ।

साथै अब आउने दिनमा पनि एक दलले अर्को दलका नेतालाई आ–आफ्नो पार्टीमा प्रवेश नगराउने पनि सहमति दुवै दलले गरेका छन् । एउटा दलबाट टिकट नपाएपछि अर्को दलमा गएर टिकट लिने परम्परा बढ्दै गएकाले यो समझदारी बनाइएको महासचिव सुमनले बताए ।

यी दुई दलबीच चुनावी तालमेल गर्ने सहमति असोज २० गते भएको थियो । त्यही तालमेललाई पूर्णता दिन अध्ययनका लागि तीन–तीन जना गरी छ जनाको कार्यदल बनाइएको छ । कार्यदलले चार दिनदेखि लगातार छलफल गर्दैछ । कुन दलको जनाधार कस्तो छ, त्यसबारे कार्यदलमा छलफल भइरहेको अर्का सदस्य एवं फोरम नेपालका उपाध्यक्ष रामसहाय यादवले बताए।

चुनावी तालमेलका लागि स्थानीय तहको चुनाव तथा दोस्रो संविधानसभा चुनावलाई आधार मान्ने पनि सहमति भएको बताइएको छ । तेस्रो चरणमा स्थानीय तहको चुनावमा मात्र भाग लिएको राजपा नेपालले मापदण्ड बनाउनका लागि संविधानसभा चुनावलाई पनि आधार मान्न प्रस्ताव गरेको छ । राजपा नेपालले प्रदेश–२ मा मात्र भाग लिएको छ तर फोरम नेपालले त्यसअघि भएका स्थानीय तहको दुवै चरणमा भाग लिएको थियो ।

ससफो नेपालले सातवटै प्रदेशमा भएको स्थानीय तहको चुनावबाट ३२ सिट जितेको छ भने राजपा नेपालले प्रदेश–२ बाट मात्र २५ सिट ल्याएको छ । राजपा नेपाल छवटा दल मिलेर बनेका कारण २५ सिट भएको छ भने फोरम नेपालले पनि अशोक राईको पार्टी सङ्घीय समाजवादी पार्टीसँग एकीकरण गरेपछि १५ सांसद पुगेको थियो । गोरखापत्रमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...