बाँदरले खिचेको सेल्फीमा कपी राइट झमेला

काठमाडौँ २५ पुस ।
एउटा बाँदरले खिचेको सेल्फी तस्बिरलाई लिएर अमेरिकामा कानुनी झमेला देखिएको छ  । इन्डोनेसियाको
एउटा बाँदरले खिचेको सेल्फीलाई लिएर तस्बिरमा अधिकार कस्को हुने भन्दै मुद्दा परेको हो ।
फोटोग्राफर डेविड स्लैटरको क्यामराबाट खिचिएको तस्बिर  ६ वर्षको नारुतो नामको बाँदरले नै क्यामराको बटन दबाएर लिएको थियो । अदालतले जनावरमा प्रतिलिपि अधिकार नहुने भन्दै निर्णय सुनाएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।  
अमेरिकाको सनफ्रान्सिस्कोमा एक अदालतमा पशु अधिकारका लागि काम गर्ने पेटा नामको संस्थाले तस्बिरमा अधिकार बाँदरको हुनुपर्ने भन्दै मुद्दा हालेको थियो । पेटाले तस्बिरबाट आएका सबै आम्दानी बाँदरले नै पाउनुपर्ने माग गरेको थियो ।
फोटोग्राफर डेविडले भने तस्बिरमा आफ्नो अधिकार रहेको दावी गर्दै आएका थिए । सन् २०११ मा यो कुरा बाहिर आएदेखि डेविडले कानुनी लडाईं लडिरहेका थिए । 
विकिपीडिया लगायतका केहीले तस्बिर बाँदरले नै खिचेकोले अधिकार बाँदरमा नै रहने बताएपनि त्यो गलत भएको डेविडले बताउँदै आएका थिए । 
डेविडले भनेका छन्, ‘सेल्फी शब्द नै २०११ पछि आएको हो, जबकी यो तस्बिर त्यो भन्दा अगाडी नै लिइएको हो ।’ बाँदरले कुनै मोबाइल फोन दबाएर तस्बिर लिएको नभै त्यसमा आफूले ठूलो मेहनत गरेको उनले बताएका छन् । 
एउटा ठूलो क्यामरा ट्राइपडमा अडाएर आफूले सबै व्यवस्था मिलाएपछि बाँदरले बटन दबाएको उनले दावी गरेका छन् । डेविडका अनुसार तस्बिरबाट प्राप्त भएको लगभग सबै आम्दानी कानुनी लडाईंमा नै खर्च भइसकेको छ । 
आफूले धेरै मानसिक हैरानी झेल्नु परेको र विकिपीडिया लगायतले तस्बिरको सित्तैमा प्रयोग गर्दा आफूलाई धेरै घाटा लागेको उनले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...