प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौँ ९ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि छलफलको अन्तिम दिन जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । त्यसपछि संसद भवन पुगेका प्रधानमन्त्रीले औपचारिक राजीनामा घोषणा गरे ।
प्रधानमन्त्री ओलीले संसदबाट अविश्वासको प्रस्तावमा आफूले समर्थन प्राप्त नहुने भएपछि राष्ट्रपतिसमक्ष राजीनामा दिइसकेको उल्लेख गरे । उनले भने, 'यस गरिमामय सदनमा आउनुभन्दा अगाडि मैले सम्माननीय राष्ट्रपतिज्यूसँग भेट गरेको छु । 
बजेट आश्रित विधेयकहरू व्यवस्थापिका–संसदबाट अस्वीकृत भइसकेपछि मैले बुझेको छु– कारण जे सुकै होस्, मलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने व्यवस्थापिका–संसदका बहुमत सदस्यहरूको ममाथि समर्थन रहेन । 
मैले माथि नै भनिसकेको छु– प्रधानमन्त्रीको पद मेरो लक्ष्य र एकमात्र गन्तव्य होइन। तसर्थ फेरिएको परिस्थितिमा यस सदनलाई नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागिमार्ग खुल्ला गर्ने निर्णय गर्दै राष्ट्रपतिज्यूसमक्ष राजीनामा पेश गरिसकेको जानकारी गराउँछु ।'
प्रधानमन्त्री चुनावमा रहेको बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने मन्त्रिपरिषदको निर्णयसहित सम्बोधन अघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । 
बाधा अड्काउ फुकाउसम्बन्धी आदेशको निर्णय ओली मन्त्रिपरिषदको अन्तिम निर्णय हो ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...