यसरि बित्छ शक्तिशाली राष्ट्रपति ओबामाको एक दिन
अमेरिकी राष्ट्रपति बाराक ओबामा ‘स्ट्रिक्ट डाइट’ र ‘फिक्स्ड रुटिन’मा चल्ने भएकाले पनि बारम्बार चर्चामा आउँछन् । केही दिनअघि आएका समाचारमा उनले प्रत्येक रात सातवटा बदाम खाने कुरा चर्चामा आएको थियो ।
मिडियामा यसले चर्चा पाएपछि ओबामाले भनेका थिए, ‘म डाइटमा यति साह्रै कडा पनि छैन कि सधैँ गनेरै बदाम खान्छु ।’ आखिर उनी एक दिन कसरी बिताउँछन् त भन्नेचाहिँ सबैको चासोको विषय हो ।
यही विषयलाई केही दिनअघि एनबिसी न्युजले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा २४ घन्टा बिताएको थियो । एनबिसीले तयार पारेको ओबामाको एक दिनः
बिहान ५ः३० बजे
बिहान ५ः३० बजे
ओबामा बिहान पाँच बजेको हाराहारीमा उठिसक्छन् । त्यसपछि उनी जिम जान्छन् । प्रत्येक दिनजसो ओबामा जिममा ४५ मिनेट बिताउँछन् । त्यसपछि उनी ब्रेकफास्ट गर्छन् । परिवारलाई केही समय दिन्छन् ।
बिहान ८ः३० बजे
बिहान ८ः३० बजेदेखि नौ बजेसम्ममा ओबामा ओभल अफिस पुगिसकेका हुन्छन् । कार्यालयमा पुगेपछि उनी सबैभन्दा पहिले त्यो दिनका पत्रपत्रिका पढ्छन् । अफिसमा उनले चार–पाँचवटा पत्रिका दैनिक पढ्छन् । अफिस पुगेको केही समयमा उनलाई स्वकीय सचिव फेरिएल गोवासिरीले पूरै दिनको कार्यतालिका बताउँछिन् ।
१० बजे
बिहान १० बजेसम्ममा ओबामा अफिसको कामका लागि तयार भइसकेका हुन्छन् । उनी प्रत्येक दिन १० बजे राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए)सँग ‘ब्रिफिङ’ लिन्छन् । त्यसपछि ओबामा विभिन्न निकायमा फोन गर्न थाल्छन् । सुरक्षाका विषयमा सल्लाह गरेपछि उनी अरू मिटिङमा पनि बस्छन् । लगत्तै अन्य विषय वा मुद्दामा केन्द्रित रहेर आफ्ना र सरकारी रणनीतिबारे उनी अफिसमा कुरा गर्छन् ।
११ बजे
त्यसपछि ह्वाइट हाउसमा ओबामाको अन्य कर्मचारीसँग भेट्ने समय मिलाइएको हुन्छ । प्रत्येक दिनजसो उनी ह्वाइट हाउसका लगभग सबै कर्मचारीसँग भेटघाट गर्छन् । यसलाई ‘ह्यान्डसेक सेसन’ भन्ने गरिएको छ । कहिलेकाहीँ प्रेस मिट गर्दा ओबामा यही समयलाई उपयुक्त मान्छन् । मिडिया र पत्रकारले समय मागेको खण्डमा पनि उनी यही समयलाई अनुकूल मान्छन् ।
साँझ ६ बजे
दिनभर कार्यालयका काम सकेर ओबामा निवासमा फर्कने तयारीमा लाग्छन् । ६ बजेपछि उनी स्वकीय सचिवबाट दिनभर भएको कामबारे जानकारी लिन्छन् ।
साँझ ६ः३० बजे
उनी यतिवेलासम्म निवास पुगिसकेका हुन्छन् । यो उनले परिवारका लागि छुट्याएको समय हो । अब उनी डिनरको तयारीमा लाग्छन् । परिवारसँग डिनर गरेपछि उनी केही समय छोरीहरूलाई समय दिन्छन् । छोरीहरू मालिया र सासासँग टिभी हेरेर उनी समय बिताउँछन् ।
साँझ ७ः३० बजे
साढे सात बजेपछि फेरि उनी काममा जुट्छन् । यतिवेला उनी फोनमा कुरा गर्ने र आएका मेलहरू पढ्ने गर्छन् । अमेरिकी नागरिक वा अन्य व्यक्तिले उनलाई पठाएका कम्तीमा पनि १० वटा मेल उनले यतिवेला पढ्छन् ।
राति ११ः३० बजे
यतिवेलासम्म ओबामा अफिसियल काममै व्यस्त हुन्छन् । तर, साढे एघार बजेपछि उनी सुत्ने तरखरमा लाग्छन् । सुत्नुभन्दा अगाडि उनी केही समय पढ्छन् । उनले कस्ता पुस्तक पढ्ने र कहिले के पढ्ने भन्ने निक्र्योल गर्न एउटा समिति नै बनाइएको छ । यही समयमा उनी आफूलाई मन पर्ने ‘ड्रिंक’ मार्टिनी पनि लिन्छन् । ओबामा प्रत्येक दिन करिब ६ घन्टा सुत्छन् । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिकृया दिनुहोस्
Loading...