उपचार खोज्दा खोसियो परिवारकै खुसी

काठमाडौं २५ साउन ।


सिर्दिबासकी १९ वर्षीया सुत्केरी प्रीति गुरुङ र ५ दिने छोरा बिरामी परे । सदरमुकामबाट ३० कोस टाढा सडक संजाल पनि नजोडिएको बस्तीमा उपचार सम्भव भएन ।


गाउँको टावर बिग्रेर दुई दिनसम्म टेलिफोनसमेत अवरुद्ध भएपछि बिरामी आमाछोरा घरमै थलिएर बसेका थिए । टेलिफोनको टावर आएपछि राजधानीमा सम्पर्क भएको थियो । श्रीमान वैदेशिक रोजगारीमा मलेशिया गएकाले सासुससुराले उपचार गर्न लैजान गाउँमै हेलिकप्टर झिकाए ।

सिर्दिवास २ स्थित फिलिमबाट सोमबार करिब ११स्३० मा काठमाडौं उडेको फिस्टेल एयर हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा एकै परिवारका चारजनासहित सातजनाको निधन भयो । मृतक ६० वर्षीय कितमान र ५६ वर्षीया अज्ञानी प्रीतिका सासुससुरा हुन् ।

‘आइतबार दिउँसो ३ बजेतिर फोनको टावर आएको थियो, हेली मगाउदा मौसम खराब छ भनेर आउन सकेन’, उनका ज्वाई सुजन गुरुङले भने । 

एक लाख ३० हजार भाडामा उनीहरुले हेलिकप्टर डाकेका थिए । उनले भने ‘घरमा पैसा थिएन, सापटी पैसा खोजेर हेलि बोलाएका थियौं, त्यही ऋण गरेको पैसा पनि हेलिमै जल्यो । आफन्त पनि बाँकी रहेनन ।’

सुजन पनि आफन्तलाई काठमाडौं पठाउन हेलिप्याडसम्म गएका थिए । ‘फर्केर घर नपुग्दै हेलिकप्टर हरायो भनेर टिभीमा नराम्रो खबर आयो’, उनले भने ।

गाउँबाट बिरामीसहित पाँचजना चढेका थिए । सिर्दिबासका जंगबहादुर गुरुङले भने, ‘एकछिनमा हेलिकप्टर खसेको खबर आयो ।’ दुर्घटना भएको थाहा पाएपछि बस्ती नै शोकाकुल भएको उनले बताए ।

अन्य मृतकमा हेलिकप्टरमै गएकी गोरखाकी लक्ष्मी गुरुङ, फेज नामक गैससमा काम गर्ने स्टाफ नर्स इटहरीकी २२ वर्षीया नीशा तामाङ र पाइलट रञ्जन लिम्बू रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । 

काठमाडौं बस्नै लक्ष्मी पनि कितमानकी आफन्त हुन् । बिरामी लिन एयरपोर्ट पुगेकी उनी सिट खाली भएपछि पाइलटसँगै सिर्दिबास पुगेकी थिइन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...