अपडेटः धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १७ पुग्यो, गम्भीर घाइते ६ जनालार्इ काठमाडाैं ल्याइयो

काठमाडौं, ११ असोज ।

धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । घाइतेमध्ये ६ जनालार्इ उपचारका लागि काठमाडाैं ल्याइएको छ ।

सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १३ र महिला ४ जना रहेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।

एसपी खत्रीले दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ६ जनालार्इ डाइनेष्टिक एयरको हेलिकप्टरबाट उद्दार गरी काठमाडाैं पठाइएको जानकारी दिएका छन् । गम्भीर घाइते रहेका अन्य दुर्इ जनालार्इ लिन नेपाली सेनाको हेलिकप्टर पठाइएको उनले जनाए । दुर्घटनास्थलमा अहिले शव संकलन कार्य भइरहेको छ ।

२७ जना लिएर सदरमुकामबाट छुटेको रहेछ, बाटाेमा केहि यात्रु थपिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ । कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...