छुट्टाछुट्टै दुर्घटनामा १ को निधन, २१ घाइते

सल्यान, २१ असोज ।

छुट्टाछुट्टै दुर्घटनामा यहाँ एक जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । 

श्रीनगरदेखि जाँदै गरेको लु १ ज २९३४ नंको जिप आज बिहान ५ बजे शारदा नगरपालिका ६ मदमकाँडामा दुर्घटना हुँदा जिप मालिक एवम चालक शारदा नगरपालिका १ निवासी ३२ वर्षीय घनश्याम थापाको घटनास्थलमै मृत्यु भएको हो ।

साँघुरो सडकको मोडमा पछाडि सर्दा जिप एक सय पाँच मिटर खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गाडीमा रहेका सहचालक यामबहादुर भण्डारी पहिले नै गाडीबाट ओर्लेका कारण सकुशल रहेको प्रहरीको भनाइ छ ।

यसैबीच धनवाङ–२, मूलपानी नजिक आगरखोला भन्ने स्थानमा बिहान तरकारी बोकेको मिनीट्रक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

रिम–३, खारखोलाबाट तरकारी लिएर कपुरकोटतर्फ हिँडेको रा १ ख ११५१ नंको मिनीट्रक पल्टिएर सडकभन्दा २५ मि तल खसेको प्रहरीले जनाएको छ ।

चालकको अनिद्राले गर्दा गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको कपुरकोटस्थित पोलिक्लिनिक र दाङ,तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...