प्रचण्डले किन बहिष्कार गरे दशैंको टीका ?
काठमाडौँ, २५ असोज ।
आम नेपालीहरु विजयादशमीको रमझममा रमाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक पनि दशैंको टीका बहिष्कार गरेका छन् ।
कम्युनिष्टको कुनै धर्म नहुने भन्दै उनले दशैंमा टीका नलगाएका हुन् । सोहीकारण प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा दशैंको जमरा पनि राखिएन ।
यसअघि प्रधानमन्त्री पदको सपथ खाँदा संविधानमै उल्लेख गरिएको ‘ईश्वर’ शब्द उच्चारण नगरी आफूलाई ‘क्रान्तिकारी’ साबित गरेका प्रचण्डले यस वर्षको दशैं टिका नलगाएरै मनाउने योजना बनाएका हुन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार परिवारसँगै बसेर दशैँ मनाए पनि उनले टीका र जमरा भने लगाएनन् ।
दशैंको टीका बहिष्कार गरेका कारण प्रचण्डले राष्ट्रपति विद्या भण्डारीबाट पनि टिका ग्रहण गर्न गएनन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई टिका लगाइदिने चलन भएपनि प्रचण्डले भण्डारीको हातबाट टिका नलगाएका हुन् ।
यसैबीच, राष्ट्र प्रमुख भएर नेपालीहरुको सबैभन्दा ठूलो चाड उपेक्षा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि सुरु भएको छ । धेरैले उनलाई ‘हिन्दू धर्मविरोधी’को आरोप लगाएका छन् ।
यसअघि प्रधानमन्त्री पदको सपथ लिदा ‘ईश्वर’ शब्द उच्चारण नगरेपछि प्रचण्डको चर्को आलोचना भएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...