दश वर्षामा दश हजार मेघावाट विद्युत् उत्पादन गरिन्छ - प्रचण्ड


  • काठमाडौँ, ३० मंसिर। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा सरकारले केही महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको बताएका छन् । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएलगत्तै गठन भएको आफ्नो नेतृत्वको सरकारले नै दश वर्षमा दश हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने घोषणा गरेको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा रहेका नीतिगत, कानुनी तथा प्राविधिक समस्या समाधान गर्न सरकार लागिपरेको बताए ।

ऊर्जा मन्त्रालयको संयोजनमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले आयोजना गरेको पावर समिट–२०१६ को उद्घाटन गर्दै आज प्रधानमन्त्री दाहालले भने – “मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ सरकारले ऊर्जा क्षेत्रमा दशवर्षे सङ्कटकालीन कार्ययोजना अगाडि सारेको छ र सो अवधिमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।”

सरकारले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने निजी क्षेत्रलाई सहजीकरण गर्दै आएको उल्लेख गर्दै उनले उत्पादन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रसँग मिलेर अगाडि बढ्न चाहेको र त्यसका लागि सहज वातावरण समेत बनेको स्पष्ट पारे ।

सरकारले बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउन चाहेको स्पष्ट पार्दै उनले भने – यस्ता आयोजनाबाट रोजगारीको सिर्जना, प्रविधिको हस्तान्तरण तथा लगानीका लागि समेत सहज वातावरण तयार पार्ने मेरो विश्वास छ ।” केही महत्वपूर्ण र ठूला आयोजना ऊर्जा सुरक्षाका लागि समेत महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

राष्ट्रिय गौरवका आयोजना तोकिएको समय भन्दा पहिले सम्पन्न गरे पुरस्कारको व्यवस्था गर्ने सम्बन्धमा सरकारले यसअघि नै घोषणा गरिसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले माथिल्लो तामाकोसी, चमेलिया जस्ता महत्वपूर्ण आयोजनाको आफूले स्थलगत अवलोकन गरेर चाँडो भन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको उल्लेख गरे ।

नेपाल र भारतबीच सम्पन्न भएको विद्युत् व्यापार सम्झौताले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि मार्गप्रशस्त गरेको भन्दै प्रधानमन्त्रीले सो सम्झौता कार्यान्वयन गर्दै त्यसमा केही समस्या आए कूटनीतिक पहल मार्फत समाधान गरिने स्पष्ट पारे। 

, ,

प्रतिकृया दिनुहोस्

Loading...