संसद बैठक बस्दै, प्रतिपक्षलाइ गलाउने सरकारी निती

  • काठमाडौँ १४ पुस ।

राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच सहमति नभएपछि ब्यवस्थापिका संसद बैठक भने दैनिक जस्तो बोलाउन थालिएको छ । 

एमालेसहितका प्रतिपक्षी दलले गत मंसिर १६ गतेदेखि लगातार बैठक अवरुद्ध गरेपछि दवावस्वरुप बैठक दैनिक बोलाईएको संसद सचिवालय स्रोतले जनाएको छ ।

संसदको सवैभन्दा ठूलो दल कांग्रेसको गत सोमवार बसेको बैठकले समेत लगातार बैठक बोलाइए एमाले समेत दवावमा आउने निश्कर्ष निकालेको थियो । 

सरकारले गत मंसिर १४ गते प्रदेश सीमांकन हेरफेर गर्ने प्रयोजनसहित संसदमा दर्ता गराएपछि बसेको संसदको लगातार ११ वटा बैठक कार्यसूचिमा प्रवेश गर्न सकेको छैन । बैठक आज दिउँसो एक बजेका लागि बोलाईएको छ ।

संसद सचिवालयले पछिल्ला बैठकका लागि निर्वाचनसँग सम्बन्धित दुई वटा विधेयक, संविधान संशोधन विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई समेत कार्यसूचिमा राखेपनि अघि बढ्न सकेको छैन । यद्यपी विधेयक फिर्ता नभएसम्म सदनको कामकारवाही अघि बढ्न नदिने अडानमा एमाले कायमै छ ।

संविधान संशोधन विधेयकबारे दलहरुबीच सहमति हुन नसक्दा संसदमा टेवल हुन सकेको छैन भने विधेयक दर्तापछि उत्पन्न विवादका कारण राष्ट्रिय राजनीतिका अन्य बिषयहरु समेत प्रभावित हुँदै आएका छन् ।

दलहरु पछिल्लो समय स्थानीय तह निर्वाचन गर्ने सहमति नजिक पुगेपनि मिति भने घोषणा हुन सकेको छैन । निर्वाचन गर्नेबारे सम्पूर्ण दलहरु सहमत भएपनि विधेयकको बिषयमा भने दलीय ध्रुविकरण जस्ताको तस्तै छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...