फुटबल किरण चेम्जोङ्ग र सुजल श्रेष्ठलाई विशेष सम्मान गरिँदै

  • काठमाडौं, १९  मंसिर ।

राष्ट्रिय फुटबल टिमका खेलाडी किरण चेम्जोङ्ग र सुजल श्रेष्ठलाई धनकुटामा नागरिक अभिनन्दन गरिँदैछ । एएफसी सोलिडारिटी फुटबलमा राम्रो प्रदर्शन गरेका चेम्जोङ्ग र श्रेष्ठलाई नगद पुरस्कारसहित नगर परिक्रमा गराइ अभिनन्दन गर्न लागिएको हो ।

दुवै खेलाडीलाई जनही ७५ हजार रुपैयाँसहित गाडीमा राखेर धनकुटा बजार परिक्रमा गराइने आयोजक समितिका शम्भु प्रधानले जानकारी दिए । खेलाडीको सम्मानका लागि धनकुटामा चन्दा संकलन गर्ने क्रम चलिरहेको छ । चन्दा संकलन भइरहेकाले आइतबार दुवैजनालाई ७५/७५ हजार रुपैया दिइने र बाँकी रकम दिने तयारी गरिएको प्रधानले बताए ।

सुजलको घर धनकुटा नगरपालिका–७ मा र किरणको घर धनकुटाको राजारानी–५ मा हो । एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदा सुजलले गोल गरेका थिए । त्यस्तै सेमिफाइनलमा गोलरक्षक किरणले लाओसका तीनजना खेलाडीको प्रहार रोकेका थिए ।

जिल्ला फुटवल संघ धनकुटा मुख्य आयोजक रहेको अभिनन्दनका लागि किरण सुजल बृहत नागरिक अभिनन्दन मूल समारोह समिति नै गठन गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...