तामाकोशीको शेयर कार्यकर्तालाई नबाँड्न एमालेका तीन सांसदको चेतावनी

- काठमाडौं, १४ पुस ।
दोलखाका तीनजना एमाले सांसदले द्वन्द्व पीडितका नाममा तामाकोशी जलविद्युत आयोजनाको सेयर माओवादी कार्यकर्तालाई बाँड्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
दोलखा क्षेत्र नम्बर १ का सांसद पार्वत गुरुङ, २ बाट निर्वाचित आनन्दप्रसाद पोखरेल र एमाले पोलिटव्यूरो सदस्य समेत रहेका सांसद पशुपति चौलागाईले माओवादीका पूर्व लडाकुलाई १२ अर्ब रुपैयाँको सेयर दिने तयारी भित्रभित्रै भइरहेको दावी गरे ।
एमालेका तीन सांसदले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीकै निर्देशनमा ११ अर्ब ८० करोड रुपैया निःशुल्क सेयरको रुपमा वितरण गर्ने कार्य भइरहेको बताए । प्रधानमन्त्रीबाटै देशको ऐन, कानुन र सेयर वितरण प्रक्रिया तथा सरकारी ऋण लगानीको प्रक्रिया विपरित राज्यको रकम कार्यकर्तालाई बाँड्ने प्रयास भएको उनीहरुको दाबी छ ।
प्रधानमन्त्रीले हालै तामाकोशी आयोजनाको भ्रमणका क्रममा पूर्व लडाकु, द्वन्द्व पीडित, सहीद तथा बेपत्ता परिवार र विपन्नलाई सरकारद्वारा विद्युत प्राधिकरणलाई लगानी गरेको रकम सेयरका रुपमा वितरण गर्ने प्रतिबद्धता गरे अनुरुप काम शुरु भएको सांसदहरुले दावी गरे ।
यदि बलजफ्ति तामाकोशीको सेयर द्वन्द्व पीडितका नाममा पार्टीका कार्यकर्तालाई बाँडिएमा कानुनी र जनदबाव दुवै प्रक्रिया अबलम्बन गर्न बाध्य हुने चेतावनी सांसदहरुले दिए ।
प्रतिकृया दिनुहोस्
Loading...
