सुनसरीमा मुस्लिम र यादव समुदायबीच दोहोरो भिडन्त: ३० घाइते, दर्जनको अवस्था गम्भीर

  • इटहरी, २२ फागुन । 
सुनसरीमा मुस्लिम र यादव समुदायबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा परी २ दर्जन बढी घाइते भएका छन्। घाइते मध्य १ दर्जन बढीको अबस्था गम्भीर छ ।  

सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह ४ को सुनसरी खोला किनार स्थित ऐलानी जमिनको मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका हुन् ।

शनिबार भएको उक्त झडप पछि घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका लागि सशस्त्र र जनपद प्रहरीको ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालित भएका छन् । 

गम्भीर घाइतेमध्ये एक दर्जनलाई विराटनगरस्थित न्यूरो अस्पताल पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।

अन्य केही घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र केहीको जिल्ला अस्पताल इनरुवा र आसपासका स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

घटनामा परि नरसिंह–४ का ३० वर्षीय बेचन यादव, १६ वर्षीय दिपेश यादव, ३० वर्षीय सञ्जय यादव, २२ वर्षीय धीरेन यादव, रीतु यादव, १७ वर्षीय याकुव अन्सारी, ६३ वर्षीय भोला मियाँ, ३९ बर्षीय इस्लाम मियाँ, ५० वर्षीय रोजित खातुन, ३८ बर्षीय जाहारुन खातुनलगायत घाइते भएका छन् ।

स्मशानघाट प्रयोग गर्ने विषयमा स्थानीय चिया पसलमा कुराकानी एवम् संवाद चलिरहेका बेला एक्कासि ढुङ्गा प्रहार भएपछि मुस्लिम समुदाय र यादव समुदायबीच घमासान दोहोरो झडप उत्पन्न भएपछि तत्कालै सुरक्षाका लागि त्यहाँ पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर श्रेष्ठले जानकारी दिए ।

दुईपक्षीय झडपमा कम्तीमा एकहजार पुरुष महिला युवा–युवतीलगायतको सहभागिता रहेको तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी नपुगेको भए सो स्थानमा निकै ठूलो मानवीय नोक्सानी हुने अवस्था रहेको पनि उनले जानकारी दिए ।

स्मशानघाटको विषयमा उत्पन्न समस्यालाई समाधान निकाल्नका लागि दुवै पक्षलाई बार्ताका लागि आहवान गरिसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

घट्ना भएपछि इनरुवा अस्पतालमा उपचारार्थ रहेका घाईते मुस्लिम तथा यादव समुदायका मानिसहरुलाई धैर्यता अपनाउन आग्रह गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिताराम मेहताले कुनै पनि हालतमा स्मशानघाटको विषयलाई जातीय वा धार्मिक मुद्दा नबनाउन सवै घाईतेहरु समक्ष आग्रह गरेका छन् ।

घटनापछि विभिन्न राजनीतिक दलका नेताहरुसमेत घटनास्थल र अस्पतालमा पुगी घाइतेको अवस्था जानकारी लिने कार्य भइरहेको तथा उनीहरुले घटनालाई केवल जमिन प्रयोगको विवाद रहेको विषयमा केन्द्रित राख्न आग्रह गरिएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...