उम्मेदवार छनोटका लागि एमाले झापाको दश दिने म्याद



झापा, २३ चैत ।

आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस र छनोटका लागि प्रक्रिया, विधि र समय सीमा निर्धारण गरेको छ । 

पार्टीको मङ्गलबार बसेको जिल्ला सचिवालयको बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै गाउँपालिका र नगरपालिका तथा वडाका उम्मेदवारको सिफारिस गर्न १० दिनको समयसीमा निर्धारण गरेको छ । 

गाउँपालिका र नगरपालिका बिजोडी वडामा चैत २७ गते र जोडी वडामा चैत २८ गते बैठक बसेर वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको लागि उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन गरेको हो । 

त्यस्तै, गाउँपालिका र नगरपालिकाका अध्यक्ष–उपाध्यक्ष र मेयर–उपमेयरका उम्मेदवारको नामावली सिफारिस गर्न गाउँ–नगर सङ्गठन कमिटीलाई वैशाख ३ गते बैठक बस्न निर्देशन दिएको छ । 

पार्टी केन्द्रले निर्धारण गरेको मापदण्डसँगै स्थानीय पार्टी कामसमेतलाई आधार मानी उम्मेदवारको नाम सिफारिस गर्न अन्तरपार्टी निर्देशन जारी गरेको जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिए । 

जिल्ला पार्टीले मातहतका कमिटीलाई धेरैजनाको नाम सिफारिस नगर्न पनि सुझाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...