भूकम्प रोक्ने यन्त्र काठमाडौं आइपुग्यो ! के हो यथार्थ ?



काठमाडौं ।

‘भुवनेश्वरी यन्त्र’ राखेपछि भूकम्प आउँदैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तान्त्रिक शक्तिबारे जानकार यस्तो तान्त्रिक यन्त्र, मन्त्र र तन्त्रले सिद्ध गरेर राखे भूकम्प नआउनेमा विश्वस्त छन् । 

भारतका आधा दर्जन प्रमुख ठाउँमा प्रयोगमा आइसकेको भुवनेश्वरी यन्त्र अब राजधानीको थापागाउँ र गोदावरीमा राखिँदैछ । यन्त्र स्थापनापछि आसपासका १५ देखि २० किलोमिटर आसपाससम्म भूकम्प नआउने विश्वास गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

अखिल भारतीय स्वामी सामाथ्र्य गुरुपीठ त्रयंबकेश्वरबाट आएको टोलीले थापागाउँ सुधार समितिसँगको समन्वयमा थापागाउँस्थित राधाकृष्ण मन्दिर र गोदावरीस्थित फुल्चोकी माई मन्दिरमा भुवनेश्वरी यन्त्र राख्न लागेको हो । गुपीठको विश्वभर ६ हजार केन्द्र रहेको र नेपालको राजधानीमा पनि एउटा केन्द्र खोल्न लागिएको जानकारी दिँदै श्री स्वामी समर्थ सेवा केन्द्र नेपालका संयोजक एवं पूर्वमहासेनानी अभिराज आचार्यले सबै यथार्थ सुझबुझसाथ मन्त्र र तन्त्र सिद्ध गरेर विधिपूर्वक भुवनेश्वरी यन्त्र राख्न लागिएको जानकारी दिए ।

यन्त्र स्थापनाका लागि राधाकृष्ण मन्दिरमा बिहानैदेखि पूजा भइरहेको छ भने गोदावरीमा भोलिदेखि हुनेछ । यन्त्र स्थापनाका लागि गणेश यज्ञ, रुद्री र वैदिक पारायणको काम भइरहेको हो ।

गुरुपीठअन्तर्गत ज्योतिष, वास्तु, आयुर्वेद, कृषि, बालसंस्कार, युवा प्रवद्र्धन, कानुन अभिमुखीकरण, महिला सशक्तीकरण, वेद संशोधन तथा यज्ञ, युवा स्वरोजगारलगायत ११ वटा विभाग छन् । यन्त्र स्थापनाको काम वेद संशोधन तथा यज्ञ विभागअन्तर्गत भइरहेको हो । उनले भने, ‘वैदिक र तान्त्रिक विधिबाट ज्योतिष र विज्ञान समेतका आधारमा यन्त्र स्थापना गरेपछि प्राणप्रतिष्ठा हुनेछ, यसपछि दैनिक पूजाआजा हुन्छ भने वर्षमा एकपटक जागरण गर्ने काम हुनेछ ।’

काठमाडौं आएका गुरुपीठका देश तथा विदेश प्रमुख पराग झाले मन्त्र र यन्त्र सिद्ध गरी भुवनेश्वरी यन्त्रलाई विराजमान गरेपछि भूकम्प नआउने दाबीगरे । ‘पशुमाथि जब क्रूर ढंगले अत्याचार हुन्छ र हत्याहरू हुन्छन्, अझ गौहत्या हुन्छ तब भूकम्प आउँछ’, उनले भने, ‘भारतको उडिसामा भुवनेश्वरी माताको मन्दिर छ, माताको यन्त्रमा नियमित पूजा हुन्छ, यसमा धेरै देवीदेवताको मन्त्रोच्चारण पनि गरिन्छ । यसरी विराजमाग गराएर विधिपूर्वक काम गर्दा भूकम्प आउँदैन ।’

उनले भूकम्प कुनै कारणले आइहाले पनि मानव र पशु कसैको पनि क्षति नहुने दाबी गरे ।

प्रतिकृया दिनुहोस्

Loading...