भारतमा हिरासतभित्रै नेपाली युवकको हत्या, आईजीपीसहित ८ प्रहरी अधिकृत पक्राउ

  • भारत ।

भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले एक नेपाली नागरिकको हिरासतभित्रै हत्या भएपछि हिमाञ्चल प्रदेशका प्रहरी महानिरीक्षक (आईजीपी) जहूर हैदरी जैदीसहित ८ प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ ।

हिमाञ्चलका आईजीपीले बालिकाको बलात्कार र हत्या घटनामा संलग्न भारतीय धनाढ्यका छोरा बचाउन धन कमाउन सिमला पुगेका एक नेपाली मजदुर सुरज सिंहलाई हिरासतमा राखी फसाउने प्रयत्न गरेका थिए । उनलाई हिरासतमा लिँदा नेपालीहरुले प्रहरी कार्यालय घेराउसम्म गरेका थिए । त्यही बीचमा युवतीको बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका ६ जनामध्ये मुख्य अभियुक्तले नेपाली मजदुरको जेलभित्रै हत्या गरिदिएका हुन् ।

जेलभित्रै नेपाली मजदुरको हत्या भएपछि सिमलामा तनाव थप बढेको थियो । हिमाञ्चलको अदालतले यो घटनाको जाँच गर्ने जिम्मेवारी सीबीआईलाई सुम्पियो । सीबीआईले घटनाको अनुसन्धानका क्रममा हिमाञ्चलका आईजीपी, एसपी र अन्य प्रहरी अधिकारीसँग धेरैपटक सोधपुछ गरी अन्तिममा गिरफ्तार गर्यो ।

भारतीय पत्रिका द वायरका अनुसार हिमाञ्चल प्रदेशको राजधानी शिमलाको कोटखाई इलाकामा ४ जुलाईमा एक नाबालिका युवतीको बलात्कारपछि निर्मम हत्या गरिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली मजदूर २९ वर्षीय सिंहको हिरासतमै मृत्यु भएपछि सीबीआईले मंगलवार हिमाञ्चल प्रदेश पुलिसका महानिरीक्षक (आईजीपी) जैदी, पुलिस उपाधीक्षक (एसपी) मनोज जोशी र ६ अन्य पुलिस अधिकृतलाई गिरफ्तार गरेको हो । युवती बलात्कार र हत्या घटनामा नेपाली मजदुर सह आरोपीका रुपमा पक्राउ परेका थिए ।

गत २० जुलाईका दिन बलात्कार र हत्याका प्रमुख आरोपी मानिएका राजीन्दर सिंहले आफूसँगै थुनिएका सुरजको टाउकोलाई भित्तामा बजारेका थिए । राजीन्दरले सुरजलाई बलात्कारको विषयमा पोल खोलेको र आफूलाई फसाएको आरोपमा आक्रमण गरेका हुन् ।

गत ४ जुलाईमा कक्षा १० मा पढ्ने एक १६ वर्षीया किशोरी स्कुलबाट घर र्फकने क्रममा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि प्रहरीले कोटखाइस्थित हलैला जंगलमा उनको शव फेला पारेको थियो । उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

प्रहरीका अनुसार आरोपीले किशोरीलाई लिफ्ट दिएर एकान्त ठाउँमा लगेका थिए र सामुहिक बलत्कारपछि हत्या गरेका थिए । किशोरीको शरीरमा देखिएका चोटहरुले उनलाई चरम यातना दिइएको अनुमान गरिएको छ ।

सो घटनामा राज्य सरकारले विशेष अनुसन्धान टोली गठन गरेलगत्तै ६ जना व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा आशिष चौहान, राजीन्दर सिंह, सुवाससिंह बिष्ट, लोक जान, सुरज सिंह र दिपक रहेका छन् ।

आईजीपीसहित घटना मिलाउनमा संलग्न ८ प्रहरी अधिकारीलाई आज (बुधबार) अदालतमा पेश गरिदैछ । जाँच एजेन्सीले युवतीको बलात्कार तथा हत्या र हिरासतभित्रै नेपाली मजदुरको मृत्यु घटनाको अलग अलग मुद्दा दर्ता गरिसकेको छ ।

२०७४ भदौ १४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...