प्रधानमन्त्री प्रचण्डलाई सकसै सकस

काठमाडौं, ३१ साउन ।

कोही खान नपाएर छट्पटाइरहेछन्, कोही खाना धेरै भएर, खाइदिने मान्छे नपाएर छट्पटाइरहेछन् । यस्तै हालत छ अहिले प्रचण्ड सरकारमा । प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रसँग सरकारी पद छेलोखेलो छ तर पद खाइदिने औकात भएका मानिस छैनन् ।

पार्टीलाई पुगिसरी आएको छ तर, सिर्फ एउटा चिजको अभाव छ– मन्त्री पदको । पार्टीका भएभरका सांसद मन्त्री बन्न अपहत्ते गरेर लागिरहेका छन् तर अन्य पदहरुका लागि मान्छे नपाएर प्रचण्डको बेहाल भएको छ ।

बल्लतल्ल आइतबार प्रचण्डले आफ्नो पार्टीका केहीलाई मन्त्री पद दिएका छन् तर एकजनाले भने खान मानेनन् । मन्त्री खान नमान्ने ती सांसद हुन् प्रभु सहा । उनी अहिले राज्यमन्त्री सरहको संसदीय समितिका सभापति पदमा छन् ।

अधिवक्ता पृष्ठभूमिको भएकाले प्रचण्डले उनलाई कानुनमन्त्री बनाउन खोजेका थिए । तर, उनले पाँच पैसा कमाई नहुने मन्त्रालय नखाने घोषणा गरेका छन् ।

पार्टीका सांसदहरुबीच प्रभुले ठाडै भनेका छन्– अब मधेसमा चुनाव लड्न घटीमा दुई करोड रुपैयाँ लाग्छ तर मसँग त्यति रकम छैन, कमाउन नपाइने हो भने किन मन्त्री बन्ने ?

मन्त्रीको भरमा मात्र सरकार चलाएर हुन्न, यसका लागि सल्लाहकार र विज्ञहरुको बलियो टिम चाहिन्छ भन्ने भरखर भरखर मात्र बुझ्न थालेका प्रचण्डले ठूला पदका लागि अघोषित रुपमा दर्खास्त आह्वान नै गरेका छन् ।

उनले आर्थिक सल्लाहकार, सल्लाहकार, वैदेशिक सल्लाहकारलगायतका विभिन्न पदमा भर्ती गर्न मानिस पाएका छैनन् । 

दुनियाँलाई देखाउन लायक विज्ञ र आफूलाई पनि सहयोग गर्ने खालका विज्ञ मानिस प्रचण्डलाई चाहिएको छ । साँघु साप्ताहिकमा खबर छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...